
पोखरा, २९ कात्तिक। पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ ।
पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए ।
यही मंसिर ३ गते परेको पर्वलाई केन्द्रीत गरी मन्दिर परिषरमा सरसफाई गरी बिभिन्न ध्वजापताका र तोरणले सजाउने कार्य शुरु गरिएको अध्यक्ष पौडेलले बताए।स्थानीय व्यक्तिको घरबाट विधिपूर्वक पूजाआजा गरि निकालिने फुलको डोली बाजागाजा र भजनकिर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याउने प्रचलन छ।फुलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ ।
चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्धार हुने धार्मिक मान्यता छ ।सो धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९, भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजनकिर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिने बताईएको छ। स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापनको तयारी समेत गरेका छन् । त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन पुग्ने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताए । स्थानीय प्रेम बहादुर जिसीका अनुसार अघिल्ला वर्षहरुमा मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लाग्ने गरेको थियो ।
पछिल्लो समयमा विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए ।मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले त्यहाँ थप आकर्षण थपेको छ । पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै बालाचतुर्दशी तथा महाशिवरात्री पर्व विशेष रूपमा मनाउने गरिन्छ ।























