
किएभ, २ कात्तिक । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गर्नुभएको छ । ट्रम्पले भने जेलेन्स्कीमाथि रुससँगको युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दशौँ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् भने तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । जवाफमा युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ ।
आक्रमणबाट तेल प्रशोधन केन्द्रसहितका संरचनामा आगलागी भएको र एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् । ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन रोकेको र मस्कोसँग डिजेलसम्बन्धी सम्झौता गरेपछि अमेरिका र युक्रेनबीच मतभेद बढेको छ । ट्रम्पले सामाजिक सञ्जालमा शान्ति वार्तामा ठूलो प्रगति भइरहेको दाबी गर्दै जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाउनुभएको थियो ।
युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा विश्व बजारमा डिजेल आपूर्तिमा असर परेको उहाँको भनाइ छ । अमेरिकी दूतहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन रचनात्मक तथा इमानदार ढङ्गले अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले अमेरिकी र युरोपेली साझेदारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्नुभएको छ ।
वार्तामा रुसी क्षेप्यास्त्रबाट रक्षा गर्न आवश्यक अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीको आपूर्तिबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























