काठमाडौं, २२ असाेज। “स्वतन्त्र, अग्रिम जानकारीसहित मञ्जुरी (FPIC) को एकीकृत निर्देशिका निर्माण” निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का सङ्घीय अध्यक्ष निमा लामा ह्योल्मोको अध्यक्षतामा उक्त परामर्श गोष्ठी आयोजना गरिएको हो।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को संयुक्त आयोजनामा सञ्चालन भएको कार्यक्रममा आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूहले कानुनी तथा प्राविधिक सहयोग पुर्‍याएको थियो भने डब्लुडब्लुएफ (WWF) ले सहकार्य गरेको थियो।

गोष्ठीमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा, प्रतिष्ठानका प्रमुख राम मादेन, नेफिनका संस्थापक महासचिव सुरेश आलेमगर लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा सरोकारवाला व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा अधिवक्ता डा. कुनसाङ लामाले “स्वतन्त्र, अग्रिम जानकारीसहित मञ्जुरीको एकीकृत निर्देशिका निर्माण” सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा सहभागीहरूबाट कार्यपत्रलाई थप प्रभावकारी र परिमार्जित बनाउन लिखित तथा मौखिक रूपमा महत्त्वपूर्ण सल्लाह-सुझावहरू सङ्कलन गरिएको छ।

प्राप्त सल्लाह र सुझावहरूलाई प्रस्तुत कार्यपत्रमा समावेश गरी पुनः छलफलपश्चात् अन्तिम ड्राफ्ट तयार पारिनेछ। त्यसपछि उक्त निर्देशिका आदिवासी जनजाति आयोगमार्फत नेपाल सरकारलाई बुझाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0