काठमाडौं, ११ असाेज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। यस समयलाई अपर पक्ष वा प्रेत पक्षका नामले पनि चिनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै छ। धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नकाल (दिउँसोपछि) गर्नुपर्ने शास्त्रीय विधान छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार बडादसैँजस्ता ठूला चाडपर्व, यज्ञयागादि तथा शुभ कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ स्मरण गर्ने गरिन्छ। सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।

बिहान होइन, अपराह्नकालमा श्राद्ध गर्नुपर्ने

धर्मशास्त्रविद् तथा समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार जाताशौच (सूतक), मृताशौच (जूठो) र पत्नी रजस्वला भएको अवस्थामा बाहेक सोह्र श्राद्ध रोक्नु हुँदैन। उनले कतिपय पुरोहितले आफ्नो अनुकूलताका लागि बिहानै श्राद्ध गराउने गरेको पाइए तापनि शास्त्रानुसार अपराह्नकालमै श्राद्ध गर्नु पर्ने स्पष्ट पारेका छन्।

छुटैमा अनेक शास्त्रीय विकल्प

कुनै कारणवश तोकिएको तिथिमा सोह्र श्राद्ध रोकिएमा शास्त्रमा विभिन्न विकल्पहरू दिइएका छन्:

  • आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म: आपत् धर्मअनुसार यो अवधिमा जुनसुकै दिन श्राद्ध गर्न सकिन्छ।

  • विशेष योग र तिथिमा: आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र वा व्यतीपात योग परेको दिन श्राद्ध गर्न सकिने निर्णयसिन्धु र धर्मसिन्धु ग्रन्थमा उल्लेख छ।

  • कार्तिक वा मङ्सिरसम्म: आश्विनमा सम्भव नभए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा वृश्चिक सङ्क्रान्ति (मङ्सिर) सम्म जुराएर श्राद्ध गर्न सकिन्छ।

  • १० महिना मन्त्र जप: कुनै पनि उपायबाट श्राद्ध गर्न नसकिएमा आफैँ वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र १० महिनासम्म जप गर्दा पनि पितृ तृप्त हुने धार्मिक मान्यता छ।

पितृ पक्षको समाप्तिसँगै हिन्दूहरूको महान् पर्व बडादसैँ (दुर्गा पक्ष) सुरु हुन्छ। पितृलाई तृप्त गराएपछि मात्र देवकार्य वा उत्सव मनाउने वैदिक सनातनी परम्परा रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0