
पोखरा, १ कात्तिक । पोखरा-जोमसोम हवाई मार्गमा निजी वायुसेवा कम्पनीहरूले उडान स्थगन गरेकोप्रति ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
टान गण्डकीका अध्यक्ष तीर्थराज सुवेदीद्वारा जारी विज्ञप्तिमा समिट एयरले २१ अक्टोबर २०२६ देखि अर्को सिजनसम्मका लागि र तारा एयरले १९ अक्टोबर २०२६ देखि अर्को सूचना जारी नभएसम्मका लागि पोखरा-जोमसोम-पोखरा उडान स्थगन गर्ने निर्णयप्रति आपत्ति जनाइएको छ।
कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण बेनी-जोमसोम-कोरला सडकखण्ड क्षति भई सडक यातायात प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पनि बन्द हुँदा यात्रुहरूको आउजाउ थप कठिन हुने विज्ञप्तिमा उल्लेख छ। यसबाट आकस्मिक बिरामी, दुर्घटनामा परेका व्यक्ति तथा प्राकृतिक विपद्का पीडितहरूको उद्धारमा समेत गम्भीर चुनौती थपिने टान गण्डकीको ठहर छ।
अन्नपूर्ण चक्रीय पदमार्ग र माथिल्लो मुस्ताङ गण्डकी प्रदेशका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य हुन्। हवाई सेवा रोकिँदा पर्यटकको यात्रा प्रभावित हुनुका साथै ट्रेकिङ तथा ट्राभल कम्पनी, होटल व्यवसायी, गाइड, भरिया र स्थानीय समुदायको रोजगारी एवं आयआर्जनमा नकारात्मक असर पर्ने विज्ञप्तिमा दर्शाइएको छ।
निजी वायुसेवा कम्पनीले उडान स्थगित गर्दा नेपाल वायुसेवा निगमसँग दुर्गम क्षेत्रमा उडान भर्न पर्याप्त जहाज र क्षमता नभएकाले समस्या झन् जटिल बन्न सक्ने भन्दै टान गण्डकीले सरकारसँग दुर्गम उडानका लागि आवश्यक जहाज र क्षमता विस्तार गर्न विशेष पहलको माग गरेको छ।
टान गण्डकीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सम्बद्ध वायुसेवा कम्पनीहरूलाई उडान स्थगनको निर्णय पुनरावलोकन गरी पोखरा-जोमसोम लगायत दुर्गम क्षेत्रका उडानहरू यथाशीघ्र सुचारु गर्न जोडदार माग गरेको छ। साथै, हवाई सुरक्षा र मौसमसम्बन्धी मापदण्डको पूर्ण पालना गर्दै नियमित उडान तथा आपत्कालीन उद्धारको भरपर्दो व्यवस्था मिलाउन आग्रह गरिएको छ।

























