
नारायण शर्मा, पोखरा २३ भदाै । पर्वतको कुश्मामा कार्यालय रहेको बैशाली सहकारी संस्था लिमिटेडमा बचतकर्ताको १० करोड ६४ लाख रकम हिनामिनामा संलग्न रहेका ७४ जना बिरुद्ध प्रहरीले जिल्ला अदालतमा आइतवार मुद्धा दर्ता गरेको छ ।
सहकारीमा भएको रकम हिनामिनाका अनुसन्धान अधिकृत सुमित श्रेष्ठका अनुसार हिनामिनामा संलग्न ७४ जनावाट १० करोड ६४ लाख बिगो हर्जना मागदावी गरेर प्रहरीले मुद्धा दर्ता गरेको हो ।
सहकारी रजिस्टारको कार्यालय पोखरा एक महिना अघि छानविन गरेर दिएको प्रतिबेदनलाई आधार मानेर प्रहरीले अनुसन्धान थालेको हो ।
प्रहरीले हिनामिना गरेकाहरुलाई रकम दाखिला गर्न उर्दि गरेपछि एक महिनाको अबधिमा ८ करोड भन्दा धेरै बचतकर्ताको रकम फिर्ता) भएको थियो ।
प्रहरीले अनुसन्धान थालेको एक महिनाको अबधिमा एउटै सहकारीमा रकमहिनामिना गरेकाहरुले यति धेरै रकम फिर्ता गरेको यो पहिलो घटना हो ।
सहकारीमा रकम हिनामिना भएको उजुरी पश्चात गत साउनमा सहकारी रजिस्टारको कार्यालयले छानविन गर्दा त्यहा १८ करोड ७६ लाख रकम हिनामिना गरेको ठहर गरेको थियो । प्रहरीले रकम हिनामिनामा संलग्नहरुलाई नगद फिर्ता गर्न दिएको समय सिमाभित्र ८ करोड नगद रकम फिर्ता भएको हो । त्यहा सहकारीको रकम हिनामिनामा संलग्न १ सय ५३ जना बिरुद्ध छानविन शुरु गर्दा हिनामिनामा संलग्न हुने शेयर सदस्यहरुको संख्या ४ सय ११ जना पुगेको थियो ।
एउटै सहकारीको रकम हिनामिनामा ४ सय ११ जना संलग्न भएको यो नेपालको पहिलो घटना भएको छानविनमा संलग्न प्रहरी अधिकृत श्रेष्ठले जानकारी दिए । ४ सय ११ जना सेयर सदस्य संगठित भएर रकम हिनामिनामा संलग्न भएको अनुसन्धानले देखाएको हो ।
प्रहरीका अनुसार १ सय ५३ जना हिनामिनामा संलग्न रहेर १८ करोड ७६ लाख हिनामिना भएकोमा हिनामिनामा संलग्नहरुले ८ करोड भन्दा धेरै रकम बुझाएपछि १० करोड ६४ लाख बिगो माग दावी सहित प्रहरीले अँइतवार सांझ अबेर अदालतमा मुद्धा दर्ता गरेको हो । सहकारी रजिस्टारको कार्यालय पोखराले गत असारमा बित्तिय बिश्लेषक निर्मल गौतमलाई खटाएर बैशालीको रकम छानविन गरेपछि सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको तथ्य बाहिरीको थियो ।
सहकारीकी ब्यबस्थापक कुमारी पुर्जाले सहकारीको शेयर सदस्य समेत नरहेका स्थानियवाट दैनिक, माशिक रकम संकलन गरेर त्यस्तालाई ऋण दिएको छानविन प्रतिबेदनमा उल्लेख छ । शेयर सदस्यबाहिरका ब्यक्तिवाट बचत रकम संकलन गर्नु र ऋण दिनु सहकारी ऐन बिपरित हो ।
संस्थाका संचालक समिति, र ब्यबस्थापकको मिलोमतोमा रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम नक्कली ऋणि बनाएर निकासा गरिएको, त्यस्तो रकम सोझै ढिकुटी र ब्यापार ब्यबसायमा लगानी गरेर हिनामिना गरेको पाइएको प्रतिबेदनमा उल्लेख छ ।
ब्यबस्थापक कुमारी पुर्जाले संचालक समिति र ऋण उपसमितिलाई समेत जानकारी नदिइ कर्जा लगानी गरेको पाइएको छ । ब्यबस्थापक आफैले एक करोड भन्दा बढि रकम हिनामिना गरेको छानविन प्रतिबेदनमा उल्लेख छ । उनले आफैले खेलाएको ढिकुटीमा सहकारीको पैसा कर्जा दिएर लगानी गराएकी छन । कुमारीले ५ जना महिलालाई ८ करोड भन्दा धेरै ऋण दिएर हिनामिना गरेको छानविन प्रतिबेदनमा उल्लेख छ ।
संचालक समितिले गत असारमा निर्णय नै गरेर छानविन गरिपाउ भनेर आफुलाई पत्र पठाए पछि बित्तिय बिश्लेषक निर्मल गौतमले यो सहकारीको हिसाप छानविन गरेर प्रतिबेदन दिएका थिए । गौतमको प्रतिबेदनलाई आधार मानेर प्रहरीले फेरी बिस्तृत अनुसन्धान गरेको थियो ।
सहकारीको रकम हिनामिनामा त्यहाकी ब्यबस्थापक कुमारी पुर्जा पुन(मगर), हालका अध्यक्ष गणेश पुन मगर, पूर्व अध्यक्ष गुमबहादुर पुन, कारोबारमा संलग्न स्थानिय महिला लतिफा बेगम,जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खतुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मँ पौडेल रकम हिनामिनाका मुख्य दोषि हुन ।
सहकारीको सिद्धान्त बिपरित शेयर सदस्य समेत नरहेकावाट बचत संकलन गरेर त्यस्ता सदस्लाई कर्जा ( ऋण) लगानी गरिएको छ । उनिहरु सककारीको रकम हिनामिनामा संलग्न मुख्य दोषि भएको छानविन प्रतिबेदनमा उल्लेख छ ।
संचालक , बचतकर्ता अधिकांस मगर समुदायवाट रहेका छन । यो त्यहाको मगर समुदायहरु सकृय भएर खोलेको देखिन्छ सहकारी रजिस्टारको कार्यालय पोखराका प्रमुख भेषराज रिजालले भने एउटै समुदायले संचालन गरेको सहकारी हुदा यहा भएको अनियमितता बाहिर आउन धेरै समय लागेको हो ।
यो सहकारीमा ४ सय २६ जना बचतकर्ता रहेका छन । २०६८ सालमा स्थापना भएको यो सहकारी कुनै समय जिल्लाकै उत्कृष्ट सहकारी मानिन्थ्यो ।





















