
पोखरा, ५ असार । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू सम्पन्न भएका छन्।
विद्यालयको अतिरिक्त क्रियाकलाप (ईसीए) विभागको संयोजनमा आयोजित कार्यक्रममा नेपाली वक्तृत्वकला प्रतियोगिता, अंग्रेजी स्पेलिङ बी प्रतियोगिता तथा मैत्रीपूर्ण योग अभ्यास कार्यक्रम सञ्चालन गरिएको एकेडेमिक हेड सेजल बिजुक्छेले बताइन् ।

नेपाली वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ र १० का १५ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीहरूले “समाजमा खेलकुद तथा ओलम्पिकको भूमिका” र “व्यक्तित्व निर्माणमा आत्मविश्वास र खेलकुदको महत्त्व” विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतियोगितामा कक्षा १० का अनुपम पौडेल प्रथम, कक्षा ९ की अन्तिमा विश्वकर्मा द्वितीय, कक्षा ९ की कृष्टी नेपाली तृतीय तथा कक्षा १० का तुफान गर्बुजाले सान्त्वना स्थान हासिल गर्न सफल भए।
त्यसैगरी, अंग्रेजी स्पेलिङ बी प्रतियोगितामा १२ जना विद्यार्थी सहभागी भएका थिए। चारवटा हाउसबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा ब्लु हाउस प्रथम, ग्रीन हाउस द्वितीय, रेड हाउस तृतीय तथा एल्लो हाउस चौथो स्थान प्राप्त गर्न सफल भएको बिद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले बताए ।
यसै अवसरमा विद्यालय परिसरमा मैत्रीपूर्ण योग अभ्यास कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। योग अभ्यासमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ। योग अभ्यासको प्रशिक्षण पातञ्जल योगका प्रशिक्षक नवराज पौडेलले सहजिकरण गरेका थिए ।
विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नेतृत्व क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा स्वस्थ जीवनशैली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।
गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्सको बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।
























