
पोखरा, २४ वैशाख । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधता संरक्षणमा आदिवासी जनजातिको परम्परागत ज्ञान र सीपलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाल आदिवासी जनजाति महासंघद्वारा पोखरामा आयोजित जलवायु परिवर्तन साझेदारी कार्यक्रम (अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षण सम्बन्धी गोष्ठी) लाई बिहिबार पाेखरामा सम्बोधन गर्दै अध्यक्ष ह्योल्मोले सो कुरा बताउनुभएको हो।
अध्यक्ष ह्योल्मोले भन्नुभयो, आदिवासी जनजातिहरू प्रकृतिसँग अभिन्न रूपमा जोडिएका छन् । हाम्रा पुर्खादेखि चलिआएको प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षण गर्ने विधि नै अहिलेको जलवायु संकट समाधानको मुख्य आधार हुन सक्छ। उहाँले प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित नभएसम्म जैविक विविधताको वास्तविक संरक्षण हुन नसक्ने दाबी समेत गर्नुभयो।
अध्यक्ष ह्योल्मोले जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा आदिवासी समुदाय परिरहेको चर्चा गर्दै राज्यले बनाउने नीति र कार्यक्रमहरू अधिकारमुखी हुनुपर्नेमा जोड दिनुभयो। हामीले केवल संरक्षण मात्र होइन, ती स्रोतहरूमाथि हाम्रो पहिचान र अधिकारको पनि वकालत गरिरहेका छौँ, उहाँले थप्नुभयो। साे अवसरमा उहाँले महासंघकाे सचिवालयमा रहनु भएका पदाधिकारीहरुकाे परिचय गराउनु भएकाे थियाे ।
गोष्ठीमा जलवायु परिवर्तनले हिमाली तथा पहाडी जनजीवनमा पारेको प्रभाव, प्राकृतिक स्रोतको न्यायोचित वितरण र आदिवासी जनजातिको भूमिकाका विषयमा सहभागीहरूबीच गहन छलफल भएको छ । कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरू, विज्ञ सहजकर्ता र विभिन्न जनजाति समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।
सहभागीहरूले स्थानीय स्तरमा रहेका जल, जमिन र जंगलको संरक्षणमा आदिवासी समुदायलाई नै अग्रसर गराउनुपर्ने र उनीहरूको अधिकारलाई कानुनी रूपमै बलियो बनाउनुपर्ने सुझाव दिएका छन् ।
गोष्ठीमा ३३ जिल्लाका ७५ जना प्रतिनिधिहरुकाे सहभागिता रहेकाे छ । गाेष्ठि वैशाख २२ गतेदेखि वैशाख २४ गतेसम्म आयोजना गरिएको हो ।





























