पोखरा, २९ जेठ । पोखरा लामाचौरमा रहेको राष्ट्रिय विद्यालय गण्डकी बोर्डिङ स्कुलले ६० औं स्थापना दिवस एक भव्य समारोहबीच मनाएको छ ।

बिहीबार विद्यालय व्यवस्थापन सिमितिका ज्येष्ठ सदस्य मदन के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई प्राचार्य विश्वयुधीर पौडेल घर्तीले स्वागत गर्दै अग्रजले यहाँसम्म ल्याएको विद्यालयको साख जोगाउँदै उत्कृष्टता हासिल गर्न र रहनका लागि प्रयत्नशील भइरहने बताए ।

प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले देशको उत्कृष्ट विद्यालय भइरहनका लागि विद्यालयको अध्ययन, अध्यापनका साथमा साथमा अतिरिक्त क्रियाकलाप, अध्ययन, अनुसन्धान र विद्यालय बाहिरको अध्ययनमा पनि जोड दिए ।

‘मैले सुनेको छु, यहाँ विद्यार्थी साइन्स एण्ड टेक्नोलोजीमा अब्बल छन् । कतिपय ठाउँमा यहाँकै विद्यार्थीले काम गरिरहेको बताउने गरेका छन् । खुसीको कुरा गण्डकी बोर्डिङका कुराहरु अन्यले पनि सिक्नपर्छ भन्ने मलाई लागेको छ,’ डा. तिवारीले भने । उनले अबको शिक्षा उत्पादनमुखी, रोजगारमुखी, प्रविधियुक्त र सिपमूलक हुनुको विकल्प नभएको बताए । साथै, उनले आफ्नो पहिचानको शिक्षा, संस्कार, संस्कृति, माटोको कथालाई पनि बुझ्न जरुरी भएको बताउँदै यसतर्फ सचेत गराए ।

सो अवसरमा पूर्व प्राचार्य जोन बार्कलेले कठिन समयमा आफूले नेतृत्व गरेको विद्यालयको ६० औं वर्षगाँठमा सरिक हुन पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘समय धेरै परिवर्तन भइसकेको छ । अब हामी समय अनुसारको कदममा कदम बढाउँदै जानुपर्छ । मलाई आशा छ, यसले उत्कृष्टता हासिल गरिरहने कुरामा हामी ढुक्कले अगाडि बढ्नुपर्छ ।’

शिक्षक अभिभावक संघका अध्यक्ष जीवन भण्डारीले आफू के हुने भन्नेबारे विद्यार्थी प्रस्ट हुनुपर्ने र विद्यार्थीको चाहना अनुसारको सिकाइमा शिक्षकहरुले साथ दिनुपर्ने बताए । ‘हामीले आफ्ना बाबुनानीलाई विद्यालयको जिम्मा लगाइसकेपछि विद्यालय, व्यवस्थापन पक्ष जिम्मेवार हुनैपर्छ,’ उनले भने, ‘अभिभावकहरु पनि तपाईहरुको साथै छौं ।’

सो अवसरमा कक्षा ४ देखि ९ सम्मका विभिन्न प्रतियोगितामा उत्कृष्टता हासिल गरेका विद्यार्थी, क्लास टपर, ३.८९ र ४ जिपिएसम्म नतिजा ल्याएकाहरुलाई तथा पिटिए अवार्ड पनि प्रदान गरिएको थियो । उनीहरुलाई पूर्व प्राचार्य जर्ज जोन, जोन बार्कले, शिक्षक अभिभावक संघका अध्यक्ष जीवन भण्डारी, शिक्षा विकास तथा समन्वय समिति कास्कीका प्रमुख लोकनाथ आचार्य, कार्यक्रमका अध्यक्ष मदन के.सी, नरहरि शर्मा लगायतले सम्मान गरेका थिए ।

यस्तै, विद्यालयमा २० वर्ष सेवा गरेका ५ तथा कलेजका २ सहित ७ जना शिक्षकलाई सम्मान गरियो । सम्मानित हुनेमा शिक्षक अशोकराज पराजुली, शोभा खड्का, सूर्यनारायण खनाल, श्रीराम अधिकारी, केदारप्रसाद ढकाल, कृष्णराम शर्मा र मानबहादुर थापा रहेका छन् ।

विद्यालयको ६० औैं वर्षगाँठकाे अवसरमा प्रकाशित स्मारिका प्रमुख अतिथि तिवारीले विमोचन गरे भने विद्यार्थीले विभिन्न गीतमा तथा नृत्य प्रस्तुत गरे । कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख मानबहादुर थापा र नेपाली विभागका सोमनाथ सुवेदीले गरेका थिए ।

नेपाल आदर्श विद्यालयको नाममा ६ शिक्षक र ६० जना विद्यार्थीबाट युनाइटेड मिसन टु नेपालले नेपाल सरकारको स्वीकृतिमा २०२३ सालमा विद्यालयको स्थापना भएको हो । पछि २०३५ सालमा राजा वीरेन्द्रको भ्रमणको बेलामा गण्डकी आवासीय माध्यमिक विद्यालय नामकरण भएको हो । हाल कक्षा ४ देखि १२ सम्म करिब १२ सय विद्यार्थी अध्ययनरत् छन् । १५० शिक्षक तथा कर्मचारी कार्यरत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0