काठमाडौँ, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गार्मेन्टका सामान (लुगाफाटो) भनी लुकाई-छिपाई कुरियरमार्फत बाहिर लैजान लागिएको ठुलो परिमाणको सुन र चाँदीका गहना बरामद गरेको छ। बरामद गरिएका गहनाहरूको कुल मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ बराबर रहेको छ।

सुरक्षा कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, गत असार १६ गते जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू रहेको भनी घोषणा गरिएको सामानभित्र सुन र चाँदीका गरगहनाहरू फेला पारिएको थियो।

उक्त बरामद धातुहरूलाई आज असार १८ गते काठमाडौँ सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीबाट परीक्षण गराउँदा ती गहनाहरू सक्कली सुन र चाँदी नै भएको पुष्टि भएको हो।

बरामद गरगहनाको विवरण र मूल्य:

सुनको गहना: २८५.१७८ ग्राम (जसको बजार मूल्य रु. ६७,३४,३५०/- कायम गरिएको छ)

चाँदीको गहना: ३ केजी ९१४.६५० ग्राम (जसको बजार मूल्य रु. १४,३८,०४३/- कायम गरिएको छ)

जम्मा मूल्य: रु. ८१,७२,३९३/- (एकासी लाख बहत्तर हजार तीन सय तिरानब्बे रुपैयाँ)

विज्ञप्तिमा उल्लेख भए अनुसार, वैधानिक रूपमा खरिद गरिएको सुन र चाँदी घोषणा (Declare) गरेर लैजाने कानुनी सुविधा हुँदाहुँदै गार्मेन्टको सामान भनी झुक्याएर लैजान लागिएको अवस्थामा यो बरामद गरिएको हो।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) राज कुमार सिलवालका अनुसार, उक्त बरामद सुन र चाँदीको विषयमा थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको र अहिले थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0