
श्रीनगर (भारत), २३ जेठ । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुग्नुभएको छ । उहाँले काश्मीरमा एउटा रणनीतिक रेलवेको उद्घाटन गर्नुभयो ।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू सुरु गरिरहनुभएको छ । आणविक–सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।
प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट लामो) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन विन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो । उक्त पुलले तल नदीभन्दा तीन सय ५९ मिटर माथि आर्क भएको दुई पहाडलाई जोड्दछ ।


























