
पोखरा, २३ साउन । लायन्स क्लब अफ पोखरा नेचुरल टाउनको आयोजनामा पोखरा महानगरपालिका–३० शिशुवामा सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट एक सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन्।
शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर डाइनेष्टिसको प्राविधिक सहयोगमा आयोजित शिविरमा बाथ, नशासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा स्वास्थ्य परामर्श दिइएको थियो।
कार्यक्रम संयोजक एवं लायन्स क्लबका पूर्वअध्यक्ष सुन्दर शर्मा पौडेलले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई सहज बनाउन शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले आवश्यकता भएका स्थानमा सामाजिक सेवा पुर्याउने लायन्स क्लबको अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सामाजिक सुरक्षाका लागि परिवार तथा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
लायन्स क्लब अफ पोखरा नेचुरल टाउनकी अध्यक्ष समीक्षा तिमिल्सेनाले ज्येष्ठ नागरिकप्रति सम्मान र सेवा गर्नु सबैको सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा लाइफ केयर अस्पताल पोखराका अध्यक्ष पुरुषोत्तम सुवेदी, डा. विद्याभूषण ताम्राकार, क्लबका सचिव बुद्धिराम सुवेदीलगायतले स्वास्थ्य तथा सामाजिक सेवाका विषयमा धारणा राख्नुभएको थियो।
























