काठमाडाैं, २२ साउन। नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसहित मोरङका केही क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द हुनेछ।
प्रभावित हुने क्षेत्रहरू:
- पूर्ण प्रभावित जिल्लाहरू: झापा, इलाम, पाँचथर र ताप्लेजुङ
- आंशिक प्रभावित क्षेत्र: मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रहरू
बत्ती जानुको कारण
मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणहरूको आवश्यक परीक्षण तथा सञ्चालन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
साथै, दुहबी–दमक १३२ केभी प्रसारणलाइन अन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड एन्ड’ टावर जडानको काम गर्नुपर्ने भएकाले अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?