लमजुङ, १४ असार। सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मस्र्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।

मस्र्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मस्र्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मस्र्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभा बाट रु ५५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

गाउँपालिकाका अनुसार पालिकाका नौवटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब रु चार करोड आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट आएको रोयल्टीमध्येबाट उक्त युनिटसम्मको बिजुली गाउँपालिकाले बिजुली महसुल तिर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो ।

यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठवटा विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मस्र्याङ्दीबेँसी जलविद्युत्लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीयसचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको स्थानीयलाई निःशुल्क ५० युनिटसम्मको बिजुली गाउँपालिकाका ९० प्रतिशत नागरिकले सो युनिटभन्दा पनि कम बिजुली बाल्ने गरेको बताउनुभयो । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छ, बिजुलीको प्रयोग पनि कम हुँदा उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि महसुल खर्च गर्नु नपर्ने देखिएको उहाँको भनाइ छ ।

हालसालै सम्पन्न मस्र्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३÷८४ का लागि रु ६८ करोड ७३ लाख १८ हजार ५०० को बजेट सार्वजनिक गरेको छ । यस गाउँपालिकामा १८ हजार ७५९ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । ५० युनिटसम्म बिजुली निःशुल्क हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0