खोटाङ, १४ असार। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत रु एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको छ ।

मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन भएको रु दुई करोड बजेटमा ठेक्का प्रक्रियाबाट कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले रु एक करोड सात लाखमा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो ।

ठेकेदार कम्पनीले करिब पाँच महिना लगाएर स्काभेटरमार्फत ब्रेकर लगाएर चट्टान फुटाएर घर्तीभिरमा सडक पार गराइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । घर्तीभिरको सडक निर्माणका लागि ठेकेदार कम्पनीले २०८२ माघमा भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

दिक्तेल–आहाले–रेग्मीटार सडकखण्डको साप्सुखोला किनारमा रहेको घर्तीभिर फुटाएर सडक निर्माण गरेपछि शनिबार कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गर्नुभयो । “महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकखण्ड लामो छ । घर्तीभिर काटेर त्योभन्दा सिधा र छोटो सडक मार्ग खोलिएको हो”, उहाँले भन्नुभयो, “यो सडक यात्रु तथा यातायात व्यवसायी दुवैका लागि उपयोगी छ ।”

बिगतमा पनि घर्तीभिरलाई काटेर छोटो दूरीको सडक बनाउने योजना बनाए पनि पहरा काट्न कसैले आँट गरेका थिएनन् । कोशी प्रदेश सरकारअन्तर्गत खोटाङमा भौतिक पूर्वाधार कार्यालय स्थापना भएपछि आवश्यक बजेट विनियोजन गरेर घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।

गोरेटो बाटो सञ्चालनमा रहेको भिर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका विभिन्न जिल्ला आवतजावात गर्ने छोटो दूरीको सडक मार्ग खुलेको छ । सुरुमा दिक्तेलबाट महुरे–बुइपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै गाईघाट जानेआउने गरिएको थियो । त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आवतजावत गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0