पोखरा, ३२ असार । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १८ सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने भएको छ ।

आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना श्रावण भएकाले श्रावण महिनामा परेका चारवटै सोमबार विशेष कार्यक्रम गरिने धामका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । प्रत्येक सोमबार शिवपुजन, रुद्राभिषेक, भजन कीर्तन, महाआरतीसहित विभिन्न कार्यक्रम हुनेछ । साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमिकालिका र भैरवको दर्शनसमेत हुने अध्यक्ष जिसीले बताए ।

सराङकोट धाममा हुने महाआरतीमा सहभागी हुने भक्तजनलाई सराङकोट केबलकारले विशेष सहुलियत दिने घोषणा गरेको छ । केवलकारका महाप्रवन्धक दिनेश पौडेलका अनुसार श्रावण महिनाको प्रत्येक सोमबार दिउँसो ४ बजेपछि केबलकारमा यात्रा गर्ने भक्तजनलाई प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ मात्र शुल्क लिइनेछ । उक्त शुल्कमा आउजाउ नै गर्न पाइने उनले बताए ।

पौडेलका अनुसार श्रावण महिनाभर केबलकारमा यात्रा गर्नेलाई विशेष छुट प्रदान गरिनेछ । २०६२ सालदेखि निर्माण शुरू भएको धाम गत वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो ।

धाममा करिब ३५ करोडको लागतमा कैलाशेश्वर महादेवको मन्दिर, पञ्चमुखी गणेशको मूर्ति, १०८ गौमुखी धारा, शिवलिंगलगायतका संरचना निर्माण भएका छन् ।

धाम सञ्चालनमा आएसँगै पर्यटकको घुइँचो लाग्ने गरेको छ । शाहवंशीय इतिहास समेत बोकेको सराङकोट सूर्योदय, सूर्यास्त, विभिन्न हिमाल र पोखरा भ्यालीको मनोरम दृश्यावलोकनका लागि अन्तर्राष्ट्रिय रुपमै परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0