
काठमाडौं, ३२ असार । साताको शेयर कारोबार हुने चौतथो दिन बुधबार नेपाली शेयर बजारमा हरियाली छाएको छ ।
पूरानो आर्थिक वर्षको अन्तिम दिनमा अन्य दिनहरुको तुलनामा कारोबार रकममा पनि बृद्धि भएको छ । नेप्सेमा देखिएको हरियाली माहोलले लगानीकर्ताहरुमा उत्साह जगाएको अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.५३ अंकले बढेर २७९७.७१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.६७ अंकले बढेर ४९०.०७ विन्दुमा रहेको छ ।
यसदिन कुल ३३० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको छ । यो कारोबार बितेका ४ कहिना यताकै उच्च कारोबार हो ।
कारोबारको आधारमा सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड ८७ लाख २६ हजार ६९४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै १० प्रतिशत केबिएल डिबेन्चर २०९० को शेयरमूल्य बढेको छ । सो शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै माई खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ७.८७ प्रतिशतले घटेको छ ।























