पोखरा, ३१ असोज। पोखरा पर्यटन परिषद्को आयोजनामा विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्‌को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

पोखरा-६, लेकसाइडस्थित रत्नमन्दिर परिसरमा शनिबार आयोजित उक्त कार्यक्रममा पर्यटन क्षेत्रका अगुवा तथा जनप्रतिनिधिहरूले पोखराको पर्यटन प्रवर्द्धन, रत्नमन्दिरको सञ्चालन, सडक तथा खानेपानीका समस्या र डिजिटल युगमा परिवारभित्र घट्दै गएको सामीप्यताबारे गम्भीर कुरा उठाएका छन्।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर तथा प्रमुख अतिथि धनराज आचार्यले रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्ने विषयमा विगतमा धेरै प्रयास भएको र मन्त्रालय पुगेको स्मरण गराउनुभयो।

नेपाल ट्रष्टको बोर्डबाट छिट्टै पोखरा महानगरपालिकालाई रत्नमन्दिर हस्तान्तरण गर्ने र त्यसलाई निश्चित मापदण्डभित्र राखी वृक्षरोपणसहितको पर्यटकीय तथा मध्यवर्ती क्षेत्रको रूपमा विकास गर्ने प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो। साथै, लेकसाइड क्षेत्रका भित्री बाटामा सिसी क्यामेरा जडान गरी पूर्ण सुरक्षित बनाइने र खानेपानीको समस्या समाधानका लागि पनि महानगर लागिरहेको उल्लेख गर्नुभयो।

डिजिटल युग र ग्याजेटको बढ्दो प्रयोगतर्फ सङ्केत गर्दै मेयर आचार्यले मानिसहरू अल्गोरिदम र ग्याजेटमा अल्झिँदा परिवार र समाज शून्य हुँदै गएको र पुर्खाका कथा तथा परम्पराहरू नयाँ पुस्तामा हस्तान्तरण हुन छाडेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले दशैँका अवसरमा आफ्ना छोराछोरी तथा परिवारसँग समय बिताउन, आफ्ना मौलिकता र संस्कार जोगाउन तथा चाडपर्वमा हुने दुर्घटनाहरू रोक्न हतार नगर्न सबैलाई विशेष आग्रह गर्नुभयो।

यसअघि, कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटन क्षेत्रमा विभिन्न विपद् र चुनौतीहरू आए तापनि ‘One Destination, One Vision’ (एक गन्तव्य, एक दृष्टि) को अवधारणासहित अगाडि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष डम्बर बहादुर केसीले हिम्मत नहारी काम गर्नुपर्ने र चाडपर्वले थप ऊर्जा प्रदान गर्ने बताउनु भयाे । लेखनाथ उद्याेग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले पर्यटनको राजधानी पोखराले जस्तोसुकै परिस्थितिमा पनि लडेर पुनः उठ्न सक्नुपर्ने धारणा राखिन्।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले अप्ठ्यारो परिस्थितिमा पनि पर्यटन व्यवसायीहरू सङ्घर्षरत रहेको बताउँदै आ-आफ्नो गच्छे अनुसार खुसीका साथ पर्व मनाउन आग्रह गर्नुभयाे । परिषद्का पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पोखरालाई पर्यटकीय आउजाउको बलियो केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयाे । पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले सबै मिलेर पर्यटनको उन्नयनमा लाग्नुपर्ने बताउनुभयाे ।

परिषद्का महासचिव मिलन तिवारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0