
वासिङ्टन, १ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् ।
नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता र प्रारम्भिक मतदानबारे सचेतना फैलाइएको हो । ट्रम्प पुनः सत्तामा फर्किएपछि चौथोपटक आयोजित यस प्रदर्शनअन्तर्गत अमेरिकाभरि करिब तीन हजार कार्यक्रम भएका थिए । राजधानी वासिङ्टनदेखि न्युयोर्क, लस एन्जलस र साना सहरसम्म प्रदर्शनकारी भेला भएका थिए ।
जुलुससँगै सवारीसाधनले हर्न बजाउने, सङ्गीत कार्यक्रम गर्ने र छिमेकीबीच भेला आयोजना गर्नेजस्ता गतिविधि पनि भएका थिए । वासिङ्टनकी ६६ वर्षीया सेवानिवृत्त शिक्षिका सबिन कार्लसनले ‘भोट, शक्ति, जनता’ लेखिएको छाता बोकेर प्रदर्शनमा सहभागी हुनुभयो । उहाँले विरोधमार्फत असन्तुष्टि व्यक्त गर्नु महत्त्वपूर्ण भए पनि मतदान झन् आवश्यक रहेको बताउँदै मतदातालाई आफ्नो मतदान केन्द्र पहिचान गर्न र दर्ता विवरण जाँच गर्न आग्रह गर्नुभयो ।
नोभेम्बर ३ को निर्वाचनमा डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिन खोजिरहेका छन् । जीवनयापनको बढ्दो लागत र मध्यपूर्वको अलोकप्रिय युद्धलाई चुनावी मुद्दा बनाएका उनीहरूले रिपब्लिकन उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























