बलेवा (बागलुङ), २० असार। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ । मुक्तिनाथबाट फर्किने पर्यटकले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोटलगायतका स्थल भ्रमण गर्न थालेका छन् ।

कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट मुक्तिनाथ पुग्ने सडक सञ्चालनमा आएपछि तथा पोखरा आएका पर्यटक बागलुङतर्फ पनि आकर्षित हुन थालेपछि यहाँका होटलमा भारतीय पर्यटकको उपस्थितिसमेत उल्लेख्य रूपमा बढेको छ । भारतबाट आएका तीर्थयात्री आशुतोष नमादले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोट र कालीगण्डकी नदीमाथि बनेको लामो झोलुङ्गे पुलको भिडियो बनाएर टिकटक तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ ।

उहाँले मुक्तिनाथदेखि बागलुङसम्मका धार्मिक स्थललाई एउटै धार्मिक सर्किटका रूपमा प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भारतको अयोध्याबाट आउनुभएका बालकृष्ण आचार्य शालीग्राम सङ्ग्रहालय देखेर निकै प्रभावित हुनुभयो । “हामीले घरमा एक–दुई वटा शालीग्राम राखेर पूजा गर्दै आएका थियौँ । यहाँ त विशाल सङ्ग्रहालयमै दर्शन गर्ने अवसर मिल्यो”, उहाँले भन्नुभयो, “हामी यस क्षेत्रको प्रचार गरेर थप तीर्थयात्रीलाई यहाँ आउन प्रेरित गर्नेछौँ ।”

सङ्ग्रहालयमा करिब एक लाख १५ हजार शालीग्राम १५० मिटर लामो सुरुङभित्र व्यवस्थित रूपमा राखिएको छ । कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनका कारण दुर्लभ बन्दै गइरहेका बेला तिनको संरक्षणका लागि सङ्ग्रहालय स्थापना गरिएको हो। यहाँ आन्तरिक तथा भारतीय पर्यटक नियमित रूपमा आउने गरेका छन् । शालीग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यका अनुसार औपचारिक तथ्याङ्क नराखिए पनि वार्षिक करिब एक लाख पर्यटकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् ।

तीमध्ये ३० हजारभन्दा बढी भारतीय पर्यटक रहेको अनुमान छ । सात वर्षअघि स्थापना भएको यो सङ्ग्रहालय मुक्तिनाथ दर्शन गरेर फर्किने अधिकांश पर्यटकको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । शुद्ध शाकाहारी भोजन रुचाउने तीर्थयात्रीका लागि स्थानीय होटलका साथै मुक्तिनाथ वेद विद्याश्रम पाठशालाको आश्रममा समेत बसोबासको व्यवस्था गरिएको छ ।

मुक्तिनाथ भ्रमणमा आउने अधिकांश भारतीय पर्यटक सातदेखि १० दिनको प्याकेज यात्रामा नेपाल आउने र त्यसक्रममा एकदेखि डेढ दिन बागलुङमा बिताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0