पोखरा, १९ असार। पोखरा महानगरपालिका वडा नं ६ को कार्यालयले वडाका महिलाहरुलाई लक्षित गरेर आयोजना गरेका विभिन्न सीपमूलक तालिमको शुक्रबार एक समारोहबीच समापन गरिएको छ ।
स्थानीय स्तरमै उपलब्ध स्रोतको परिचालन र महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यी तालिमहरू ३८ जना प्रशिक्षार्थी बीच आयोजना गरिएका हुन् ।
तालिम सफलतापूर्वक समापन भएको अवसरमा शुक्रबार एक विशेष कार्यक्रमका बीच प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । सो प्रमाण पत्र वडाध्यक्ष विष्णु बहादुर भट्टराईले वितरण गरेका हुन् ।
विभिन्न विधामा सीपमूलक तालिम
वडा कार्यालयले महिलाहरूको रुचि र व्यावसायिक आवश्यकतालाई ध्यानमा राखेर तीनवटा फरक विधामा तालिम सञ्चालन गरेको हो ।
१. दुबोको माला र दुलही चप्पल बनाउने तालिम
यो तालिम असार १ गतेदेखि १६ गतेसम्म सामुदायिक सेवा केन्द्र, बैदाम, कास्कीको हलमा सञ्चालन गरिएको थियो ।
२. व्यावसायिक झोला बनाउने तालिम
महिलाहरूलाई व्यावसायिक रूपमा झोला उत्पादन गर्न सक्षम बनाउने उद्देश्यले असार ३ गतेदेखि १९ गतेसम्म आशा फाउण्डेशन, विरौटा, कास्कीमा आयोजना गरिएको थियो।
३. गुडिया बनाउने तालिम
सजावट र बजारमा माग बढी भएका गुडियाहरू तयार पार्ने सम्बन्धी यो तालिम असार ६ गतेदेखि १६ गतेसम्म सामुदायिक सेवा केन्द्र, बैदाममा सञ्चालन भएको थियो।
सीपलाई व्यवसायमा बदल्न वडाध्यक्ष भट्टराईको जोड
समापन कार्यक्रमका अध्यक्ष एवं पोखरा ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले तालिममा सिकेको सीपलाई घरमा मात्र सीमित नराखी व्यावसायिक रूपमा अगाडि बढाउन आग्रह गरे। वडाबासीलाई आत्मनिर्भर र उद्यमी बनाउन वडा कार्यालयले सधैँ प्राविधिक तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडाध्यक्ष भट्टराईले वडा कार्यालयले आधुनिक प्रविधिको प्रयोग र डिजिटल साक्षरताका लागि आगामी दिनमा महिला तथा युवाहरू लक्षित तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले तालिममा वा वडाका कुनैपनि कार्यहरुमा समावेसीतालाई उचित ध्यान दिइएकाे बताए ।
कार्यक्रममा सहभागिलाई स्वागत मन्तव्य राख्दै वडा सदस्य भीमा जलारीले महिलाहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर अगाडि बढाइने बताइन् ।
कार्यक्रममा वडा सचिव विष्णु प्रसाद शर्मा, सामुदायिक सेवा केन्द्र बैदामका उपाध्यक्ष अनिल थापा र वडा सदस्य बासुदेव बराल लगायतले प्रशिक्षार्थीहरूलाई उत्पादित सामग्रीको बजार व्यवस्थापन र व्यावसायिक निरन्तरताका लागि शुभकामना दिएका थिए।
कार्यक्रममा प्रशिक्षार्थी शुसिल परियार, रेनु सुनार, विष्णुमाया लामिछानेले तालिमको अनुभव सुनाएका थिए । उनीहरुले छोटो समयमै राम्रो सीप आर्जन गरेको बताए।
प्रशिक्षकहरूमा विमला दवाडी र रुद्र कुमारी पुन रहेका थिए । कार्यक्रम सूचना अधिकारी सिर्जना गौतमले सञ्चालन गरेकी थिईन् । फाेटाे-तीर्थ केसी