
मियामी, २० असार । साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा केप भर्डेमाथि ३–२ को कठिन जित निकाल्दै फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालनीले उक्त खेल आफ्नो प्रशिक्षकीय जीवनकै सबैभन्दा चुनौतीपूर्णमध्ये एक भएको बताउनुभएको छ ।
मियामीको अत्यधिक गर्मीबीच करिब पाँच लाख जनसङ्ख्या भएको अफ्रिकी टापु राष्ट्र केप भर्डेले अर्जेन्टिनालाई कडा प्रतिस्पर्धा दिएको थियो । लियोनेल मेसीले विश्वकपमा आफ्नो २०औँ तथा यस संस्करणको सातौँ गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर विश्वकपमा पहिलोपटक सहभागी भएको ब्लु साक्र्सु उपनामले परिचित केप भर्डेले हार स्वीकार गरेन । खेलको ६० औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याएपछि निर्धारित समय १–१ को बराबरीमा सकियो र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर सिड्नी लोपेस काब्रालले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई फेरि २–२ को बराबरीमा पु¥याए ।
अन्ततः क्रिस्टियन रोमेरोको दबाबका क्रममा डिनी बोर्जेसबाट भएको आत्मघाती गोल निर्णायक बन्यो । त्यससँगै अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित दर्ता गर्दै मङ्गलबार हुने अन्तिम १६ को खेलमा इजिप्टसँगको भेट पक्का ग¥यो । आफ्नो देशको टोलीको प्रशिक्षकका रूपमा १०० औँ खेल पूरा गरेका स्कालनीले खेलपछि भन्नुभयो, “यी १०० खेलमध्ये प्रशिक्षकका रूपमा यस खेलले ममाथि सबैभन्दा गहिरो छाप छोडेको छ ।” उहाँले थप भन्नुभयो, “यदि हामी पराजित भएको भए त्यो निकै अप्रत्याशित र निराशाजनक नतिजा हुने थियो ।”
प्रतियोगिताको ‘ड्र’ अनुसार अर्जेन्टिना तुलनात्मक रूपमा सहज मार्गमा देखिए पनि स्कालनीले केप भर्डेको प्रदर्शनले कुनै पनि विपक्षीलाई कमजोर ठान्न नहुने सन्देश दिएको बताउनुभयो । “म विपक्षी टोलीलाई बधाई दिन चाहन्छु । ‘कुनै पनि खेल सहज हुँदैन’ भन्ने भनाइलाई उनीहरूले आज मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै पुष्टि गरेका छन्,” स्कालोनीले भन्नुभयो ।
अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टलाई पराजित गर्न सके क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, कोलम्बिया वा घानामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

























