
काठमाडौं, २१ साउन । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता ! पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता !!’ भन्ने मूल नाराका साथ यस वर्षको ३२औँ विश्व आदिवासी दिवस देशभरी भव्य रूपमा मनाइने भएको छ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नारा “Honouring Indigenous Midwives: Safeguarding Life and Well-being” लाई समेत आत्मसात् गर्दै नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) ले विभिन्न साताव्यापी कार्यक्रमसहित दिवस मनाउने तयारी पूरा गरेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

साझा प्रतिबद्धता र मूल समारोह
महासंघका अध्यक्ष निमा लामा ह्योल्मो र महासचिव विमल सारु मगरद्वारा जारी विज्ञप्तिमा लेखिएकाे छ, ‘२०८३ श्रावण २४ गते (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा देशभरका हजारौँ आदिवासी जनजाति मौलिक भेषभूषा, बाजागाजा, झाँकी र गीत-नृत्यसहित भेला हुनेछन्। भृकुटीमण्डपबाट सुरु हुने विशाल सांस्कृतिक र्याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्च (टुँडिखेल) मा पुगेर मूल समारोहमा परिणत हुनेछ।’
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा हुने सो मूल समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न आदिवासी जनजातिको सहभागिता रहनेछ।


प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिका साथै प्रविधिको प्रयोग
समारोहमा नेवारको धिमे, मगरको डिग्रे र कौराहा, गुरुङको घाँटु, तामाङको सेलो र बोम्बो, शेर्पा, राई, लिम्बू, थारू, चेपाङ लगायतका दर्जनौँ समुदायका परम्परागत सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिनेछ। साथै खुलामञ्च परिसरमा मौलिक रैथाने परिकार (फुड फेस्टिभल), हस्तकला, परम्परागत पोशाक र स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री-वितरणको व्यवस्था मिलाइएको छ।

५० हजार सहभागी हुने अपेक्षा
करीब ५० हजार सहभागी हुने अपेक्षा गरिएको उक्त समारोहमा मोबाइल नेटवर्कमा आउने चापलाई ध्यानमा राख्दै नेपाल टेलिकमको Cell on Wheels (COW) सेवा सञ्चालन गरिनेछ भने ६० भन्दा बढी देशका पत्रकारहरूको सहभागितामा विभिन्न टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ।
साताव्यापी कार्यक्रमहरूको तालिका
- अपाङ्गता भएका महिलाहरूको क्षमता अभिवृद्धि: निडवानद्वारा श्रावण १८–२२ गते डिल्लीबजारमा ५ दिने तालिम।
- प्रसूतिकर्मीको सम्मान: नेपाल मगर संघद्वारा श्रावण १९ गते कलंकीमा कार्यक्रम।
- अन्तरक्रिया कार्यक्रम: आदिवासी जनजाति आयोगद्वारा श्रावण २० गते पुल्चोकमा अन्तरक्रिया।
- FPIC राष्ट्रिय अभिमुखीकरण: श्रावण २१ गते बानेश्वरमा।
- अन्तरपुस्ता संवाद: राष्ट्रिय आदिवासी जनजाति महिला महासंघद्वारा श्रावण २२ गते पुल्चोकमा कार्यक्रम।
- पुनःस्थापना सम्बन्धी विचार विमर्श: तमु ह्युल छोंज धीं द्वारा श्रावण २२ गते मित्रनगरमा।
- अधिकार संरक्षणसम्बन्धी कार्यक्रम: श्रावण २३ गते पुल्चोकमा।
- जैविक विविधता संवाद: आदिवासी जनजाति युवा महासंघद्वारा श्रावण २५–२६ गते कोन्ज्योसोम, ललितपुरमा।
- मातृभाषा पत्रकारिता सम्मेलन: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा श्रावण २५, २६ र २७ गते भृकुटीमण्डपमा।
- शुभकामना आदानप्रदान: श्रावण २४ गते बिहान राष्ट्रिय नाचघर जमलमा।
महासंघका अध्यक्ष निमा लामा ह्योल्मो र महासचिव विमल सारु मगरद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण आम नागरिक, सञ्चारमाध्यम र सरोकारवालाहरूलाई आफ्नो मौलिक पहिचानसहित उपस्थित भई दिवस सफल बनाउन हार्दिक आह्वान गरिएको छ।

























