
नारायणगढ (चितवन), ११ असार। नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील र भविष्यउन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आजदेखि तीन दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा सुरु भएको ‘दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन’ असार १३ गतेसम्म सञ्चालन हुनेछ ।
बहुआयामिक विषयमा गहन छलफल हुने
आयोजक समितिका संयोजक प्रा.डा. निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा कृषिका विविध आयामहरूमा बहस हुनेछ । सम्मेलनमा मुख्य गरी निम्न विषयहरूमा छलफल केन्द्रित रहनेछ:
- कृषि रूपान्तरण, खाद्य तथा पोषण सुरक्षा
- जलवायु अनुकूलन र प्राकृतिक स्रोत व्यवस्थापन
- पशु चिकित्सा, एक-स्वास्थ्य (One-Health) र चक्रीय अर्थतन्त्र
- कृत्रिम बुद्धिमत्ता (AI) तथा डिजिटल कृषि र सामाजिक समावेशीकरण
सम्मेलनमा २० वटा प्रमुख आमन्त्रित प्रस्तुति, ७० वटा मौखिक अनुसन्धान प्रस्तुति र ४६ वटा पोस्टर प्रस्तुतिहरू समावेश गरिएका छन् । साथै, नेपालको दिगो खाद्य प्रणाली रूपान्तरण, लैङ्गिक समानता, र कृषि-पारिस्थितिकीय प्रणालीमार्फत समावेशी खाद्य प्रणाली रूपान्तरणसम्बन्धी विशेष सामूहिक सत्रहरू समेत सञ्चालन गरिने प्रा.डा. भट्टराईले जानकारी दिनुभयो ।
विशेष आकर्षण: विद्यार्थी स्टार्टअप र नाटक मञ्चन
सम्मेलनमा विश्वविद्यालयको व्यवसाय विकास केन्द्र (बिजनेस इन्क्युबेसन सेन्टर) द्वारा आर्थिक तथा प्राविधिक सहयोग प्राप्त १३ वटा विद्यार्थी समूहका नवप्रवर्तनशील स्टार्टअपहरूको विशेष प्रदर्शनी गरिएको छ । यसका साथै, कला र सामाजिक चेतनालाई कृषिसँग जोड्न चितवनको प्रख्यात रङ्गमञ्च ‘कर्मी चौतारी’ द्वारा पहिलो दिनको अन्तिम सत्रमा विशेष नाटकसमेत मञ्चन गरिने आयोजकले जनाएको छ ।
उत्पादन वृद्धि मात्रै समाधान होइन: रजिष्ट्रार सिंह
विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुवीर सिंहले नेपालको कृषि क्षेत्रले हाल जलवायु परिवर्तन, प्राकृतिक स्रोतको क्षय, श्रमिकको अभाव, युवा पलायन र खाद्य असुरक्षालगायत गम्भीर चुनौतीहरू भोगिरहेको उल्लेख गर्नुभयो । यी समस्याहरू केवल उत्पादन वृद्धि गरेर मात्र समाधान हुन नसक्ने भन्दै सम्पूर्ण कृषि तथा खाद्य प्रणालीलाई दिगो र उत्थानशील बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।
“यो सम्मेलन केवल अनुसन्धान प्रस्तुत गर्ने औपचारिक कार्यक्रम मात्र नभई नेपालको कृषि र खाद्य प्रणालीको भविष्यका बारेमा साझा दृष्टिकोण निर्माण गर्ने राष्ट्रिय मञ्च हो,” रजिष्ट्रार सिंहले भन्नुभयो ।
उहाँले यस सम्मेलनले विश्वविद्यालय, सरकार, निजी क्षेत्र, विकास साझेदार र कृषकहरूलाई एउटै थलोमा ल्याएर नेपालको दिगो विकास लक्ष्य प्राप्ति र कृषि रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
४०० बढीको सहभागिता
विश्वविद्यालयका उपकुलपति प्रा.डा. होमबहादुर बस्नेतको अध्यक्षता तथा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्मेलन उद्घाटन गरिएको हो ।
सम्मेलनमा सङ्घीय सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), विभिन्न विश्वविद्यालय, विकास साझेदार संस्था, निजी क्षेत्र, कृषक समूह र विद्यार्थी स्टार्टअपहरूका प्रतिनिधिहरू गरी करिब ४०० जनाको सहभागिता रहेको छ ।
यस कार्यक्रमको सह-आयोजकमा नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (FAO), हेफर इन्टर्नेसनल नेपाल, केयर नेपाल र वेल्टहङ्गरहिल्फे रहेका छन् ।
























