
टीकापुर, ११ असार। वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ । टीकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ७५ बालबालिका शीघ्र कुपोषणको जोखिममा छन् भने २७२ जना मध्यम कुपोषित भेटिएका छन् ।
पालिकाले कुपोषित बालबालिका धेरै देखिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर फेरि ‘स्क्रिनिङ’ थालिएको जनाएको छ । “टीकापुर नगरपालिकाले बालबालिकाको पोषण अवस्था सुधारका लागि प्राथमिकता दिएको छ । अभियानका क्रममा १ हजार ८ सय ६४ बच्चाको पोषण परीक्षण गरिएको थियो”, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल भन्नुहुन्छ, “कुपोषित बालबालिकाको पोषण सुधारमा थप प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सुधारबारे थप तालिम दिन थालेका छौँ ।”
पालिकाले वडा वडामा स्वास्थ्य संस्था स्थापना गरी गर्भावस्थादेखि नै पोषण सुधारका लागि विभिन्न प्रयास गर्दै आएको र कुपोषित बालबालिकालाई पाँच वटा संस्थाबाट उपचारात्मक खाना खुवाउने गरेको रावलको भनाइ छ । स्वयंसेविकासँगको छलफलमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन र आवश्यक उपचारमा विशेष ध्यान दिने योजना सहित छलफल गरिएको छ ।
अझै समुदायस्तरमा पोषण सुधारका लागि स्वयंसेविकामार्फत सचेतना फैलाउनुपर्ने, बाल भिटाको प्रयोग बढाउनुपर्ने रावल बताउनुहुन्छ । “स्वयमसेविकाले समुदायमा गर्भावस्थादेखि नै पोषणसम्बन्धी ज्ञान, व्यवहार परिवर्तन र सेवामा पहुँच बढाउन सघाउनुका साथै कुपोषण न्यूनिकरण तथा स्वास्थ्य सुधारमा सघाइरहको छन्”, उहाँ भन्नुहुन्छ, “आमा र बच्चाको पोषण सुधारका लागि स्वयम सेविका, स्वास्थ्यकर्मी, सरकार मात्र होइन परिवार नै जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।”
























