
पोखरा, १८ चैत। गण्डकी अटो मेकानिकल वर्क्स एशाेसिएसन पोखरा, पोखरा उद्योग वाणिज्य संघको औपचारिक वस्तुगत सदस्यका रूपमा आवद्ध भएको छ।
संघको नियम अनुसार व्यावसायिक संस्थाहरूको ५० प्रतिशतभन्दा बढी सहभागिता भएका संस्थाहरूलाई वस्तुगत सदस्यको मान्यता दिने प्रावधान अनुरूप एशाेसिएसनले साे सदस्यता प्राप्त गरेको हो।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले वस्तुगत सदस्यका रूपमा आवद्ध भएकोमा एशाेसिएसनलाई स्वागत गर्दै अबका दिनमा क्षमता अभिवृद्धि, रचनात्मक कार्य र तालिम लगायतका कार्यक्रमहरूमा संघले विशेष प्राथमिकता दिने बताउनुभयो।
नयाँ अवसर र जिम्मेवारी
सदस्यताको औपचारिक प्रमाणपत्र ग्रहण गर्दै गण्डकी अटो मेकानिकल वर्कस एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संघको सदस्य बनेसँगै व्यवसायीहरूको क्षमता विकासका लागि नयाँ अवसर र ढोका खुलेको बताउनुभयो।
त्यसैगरी, एसोसिएसनका महासचिव बिजेन्द्र चौधरीले यो आवद्धताले संस्थाको गरिमा बढाएको र थप जिम्मेवारी महसुस गराएको उल्लेख गर्नुभयो।
सामाजिक योगदान
कार्यक्रममा एसोसिएसनकी कार्यालय प्रमुख पार्वती बरालले संस्थाको वस्तुस्थितिबारे जानकारी दिनुभएको थियो। उहाँका अनुसार एसोसिएसनमा हाल ३२७ जना मेकानिक्स सदस्यहरू आबद्ध रहेका छन् । संस्थाले विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरू निरन्तर गर्दै आएको प्रेस संयाेजक कृष्ण थापाले जानकारी दिनुभयाे ।
























