
पोखरा, १४ पुस । पोखराकाे पुरानाे टुँडिखेलमा तीनदिने विगमार्ट तमु ल्होछार महोत्सव २०८२ सोमबार देखि सुरु भएको छ । तमु (गुरुङ) हरुको मौलिक राष्ट्रिय पर्व ल्होछार तथा सर्प वर्ग (सप्री ल्हो)को विदाई र घोडा वर्ग (त ल्हो) को स्वागतको अवसरमा पहिलो पटक महोत्सव आयोजना गरिएको हो ।
तमु धिं नेपालको आयोजनामा पोखरा महानगरपालिका–१, बगर स्थित पुरानो टुडिखेलमा भएको महोत्सवको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरे। उक्त अवसरमा भट्टले ल्होसारको शुभवकामना व्यक्त गर्दै मुलुकमा विविध भाषिक, धार्मिक, सामाजिक र सांस्कृति भएका बहुजातिहरुको बसोबास भएकाले सवै खालका भाषा, धर्म, समाज र संस्कृति जोगाउन सके, पर्यटन प्रवद्धन हुनुका साथै आर्थिक समृद्धि तथा समग्रह विकास हुने बताए।
यस्ता कार्यक्रमले भाषा, धर्म संस्कार, संस्कृति संरक्षण हुने, उनको विश्वास रहेको छ । साथै, गुरुङ जाती नेपालको गण्डक क्षेत्रमा बसोबास गर्ने एक मूलवासी भूमिपुत्र मंगोल वर्णका समुदायले ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै, यस्ता मौलिक पर्वहरूलाई संरक्षणको जिम्मेवारी युवाहरूको काँधमा रहेको उल्लेख गरे। यसमा राज्यको पनि दायीत्व भएकोले यसको संरक्षण गर्नुका साथै पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रतिनिधि सभाका पुर्व सदस्य मन बहादुर गुरुङ, गण्डकी प्रदेश सदस्य सरस्वति गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमु, संस्थाका प्रथम उपाध्यक्ष मेजर श्रीप्रसाद, गुरुङ महासचिव अधिवक्ता जुना कुमारी गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष हुम बहादुर तमुको अध्यक्षतामा भएकाे थियो ।
महोत्सव पौष १७ गते सम्म चल्ने अध्यक्ष तमुले जानकारी दिए। कार्यक्रम हुनु अघि विभिन्न झाँकि सहितकाे र्याली निकालिएको थियो । रयालिमा तमु समुदाय, नेवारी समुदाय, क्षत्री समाज नेपाललगायतका विभिन्न जातजातिहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष तमुका अनुसार महोत्सवमा सामुहिक खुल्ला लोकनृत्य प्रतियोगीता, गुरुङ भेषभुषा भाषा प्रतियोगीता, भलिबल र छेलो प्रतियोगीता हुने छ ।
झाँकी प्रतियोगिताका विजेताले ६० हजार, उपविजेताले ४० हजार, तृतीय हुनेले २० हजार चौँथो हुनेलाई १० हजार र सान्त्वना पुरस्कार ४ समुहलाई ४÷४ हजारका दरले प्रदान गरिने छ ।
यस्तै सामुहिक खुला लोकनृत्य प्रतियोगीतामा प्रथम पुरस्कार ७५ हजार, द्धित्तीय पुरसकार ५० हजार, तृतीय पुरस्कार २५ हजार र चौँथो पुरस्कार १५ हजार रहेको छ । गुरुङ भाषाभेषभूषा प्रतियोगीतामा प्रथम, द्धित्तिय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद रु ५, ४, ३ र एक हजार पुरस्कार प्रदान गरिनेछ ।
महोत्सवमा ३७ लाख १० हजार खर्च हुने र ४२ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । महोत्सवमा विविध साँस्कृतिक कार्यक्रमका साथमा लाईभ कन्सर्ट पनि हुनुका साथै परम्परागत खाना, कृषि, सूचनाप्रविधि, बैङ्किङ, व्यवसायिक लगायतका स्टलहरू राखिएको छ ।






























