
काठमाडौं, १ असोज। प्रतिनिधिसभा सदस्यहरुले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोदाममा थन्किएको बताउँदै पीडितहरूलाई ती सामान प्रदान गर्न माग गर्नुभयो ।
सांसद बोधनारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा पुरिएका निजी भवन, वित्तीय संस्थाका भवन तथा धार्मिकस्थललगायत संरचनामा खोज तथा उद्धार अभियान सञ्चालन गर्न माग गर्नुभयो । सांसद गङ्गादेवी श्रेष्ठले बाढी प्रभावितको उचित पुनःस्थापना तथा पुरिएका घर र भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न माग गर्नुभयो । उहाँले भोटेकोशी कटान रोक्ने संरचना निर्माण थाल्न आग्रह गर्नुभयो ।
सांसद टिकाभद्र हमालले बाढीपीडितलाई सघाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद यशोदाकुमारी बरालले खानापकाउने ग्यासको अभावले जनता आहत भएकाले यो समस्या तत्काल समाधान गर्न माग गर्नुभयो । सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा सर्वसाधारणले उपचार नपाएका गुनासो गर्नुभयो ।
सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका सेवा प्रदायकले प्रवाह गरेको सेवा र मालसामानको भुक्तानी नपाएाले तत्काल बक्यौता तिर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























