काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय भेटवार्तापछि ती समझदारीहरूमा हस्ताक्षर भएको हो।

दुवै देशका प्रतिनिधिमण्डलको उपस्थितिमा सुरक्षा, प्रशासनिक तालिम, प्रविधि, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने सहमति भएको छ।

समझदारीमा हस्ताक्षर भएका आठ विषयहरू

  • फरेन्सिक विज्ञानमा सहकार्य: गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गरिनेछ।

  • प्रहरी प्रशिक्षण: सुरक्षा जनशक्ति विकासका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।

  • प्रशासनिक अधिकारीहरूको तालिम: भारतको सुशासन केन्द्र र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को संयुक्त सहकार्यमा नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण प्रदान गरिनेछ।

  • आयुर्वेद र परम्परागत चिकित्सा: दुवै देशले आयुर्वेद तथा उपचारका अन्य परम्परागत चिकित्सा पद्धतिहरूको प्रवर्द्धन र अनुसन्धानमा सहकार्य गर्नेछन्।

  • स्याटेलाइट सञ्चार: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ।

  • सहरी विकास: दुवै मुलुकले दिगो सहरी विकास तथा पूर्वाधार निर्माणको क्षेत्रमा प्राविधिक सहकार्य अघि बढाउनेछन्।

  • स्वास्थ्य र चिकित्सा: नेपाल र भारतले आम नागरिकको स्वास्थ्य सेवा विस्तार र चिकित्सा क्षेत्रको विकासमा मिलेर काम गर्ने सहमति गरेका छन्।

  • पशुपालन र मत्स्यपालन: कृषि क्षेत्रको आधुनिकीकरणअन्तर्गत दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि आपसी सहकार्य गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0