
ब्रासिलिया, १ असोज । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएमा ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताउनुभएको छ । अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर दुई देशबीच तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
लुलाले ब्रासिलियामा आयोजित चुनावी कार्यक्रममा आफू महासभाका क्रममा ट्रम्पसँग कुराकानी गर्न जाने र ‘ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न’ आग्रह गर्ने बताउनुभयो । ब्राजिलको विदेश मन्त्रालयका अधिकारी कार्लोस बिकालो कोजेन्डेले भने दुई नेताबीच विशेष द्विपक्षीय बैठक तय नभएको, तर गत वर्षजस्तै महासभामा भेट हुनसक्ने बताउनुभयो ।
अमेरिकाले जुलाईमा ब्राजिलबाट आयात हुने वस्तुमा दुई चरणमा नयाँ शुल्क लगाएपछि लुलाले त्यसलाई आर्थिक दबाबमार्फत चुनाव प्रभावित पार्ने प्रयासका रूपमा आलोचना गर्नुभएको थियो । ट्रम्प प्रशासनसँगको तनाव सन् २०२५ मा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि चलेको मुद्दालाई लिएर ब्राजिलमाथि पहिलो चरणको शुल्क लगाएपछि सुरु भएको थियो ।
जाइर बोल्सोनारो ट्रम्पका सहयोगी तथा लुलाका चुनावी प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोका पिता हुनुहुन्छ । एएफपीका अनुसार जाइरलाई सत्ता पल्टाउने प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।




























