काठमाडौं, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ का अन्तिम तथा निर्णायक खेलहरूमा प्रतिस्पर्धात्मक नतिजा निस्किएको छ।

कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै नकआउट चरणमा क्रमशः समूह विजेता र उपविजेताका रूपमा प्रवेश गरेका छन् भने डीआर कंगोले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै ‘सर्वोत्कृष्ट तेस्रो टोली’ का रूपमा अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

मायामी स्टेडियममा भएको बहुप्रतीक्षित खेलमा कोलम्बिया र पोर्चुगलले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन्। बराबरीसँगै कोलम्बियाले ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो भने ५ अंकसहित पोर्चुगल उपविजेताका रूपमा नकआउट चरणमा पुग्यो।

खेलअघि टनेलमा दुवै टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र जेम्स रोड्रिगेजले एकअर्कालाई अँगालो हालेर शुभकामना आदानप्रदान गरेका थिए। पहिलो हाफमा पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ फेलिक्सका प्रहारलाई कोलम्बियाका गोलरक्षक कमिलो भार्गासले उत्कृष्ट बचाउ गरे। यता कोलम्बियाका जोन कोर्डोबाको शक्तिशाली प्रहारलाई पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले रोके। दोस्रो हाफमा दुवै टोलीले खेलाडी परिवर्तन गर्दै गोलको खोजी गरे पनि गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण खेल गोलरहित बराबरीमा टुङ्गियो।

यता एटलान्टा स्टेडियममा भएको अर्को खेलमा डीआर कंगोले उज्बेकिस्तानविरुद्ध शानदार पुनरागमन गर्दै ३–१ को जित निकाल्यो।

खेलको १०औँ मिनेटमा उज्बेकिस्तानका स्टार स्ट्राइकर एल्डोर शोमुरोदोभले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको कंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो। ६८औँ मिनेटमा योआने विसाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ७८औँ मिनेटमा मैदान प्रवेश गरेका फिस्टन मायेलेले गोल गर्दै कंगोलाई २–१ को अग्रता दिलाए। इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै डीआर कंगोको ३–१ को जित सुनिश्चित गरे।

यो जितसँगै डीआर कंगोले ४ अंक र प्लस १ गोल अन्तरसहित समूहमा तेस्रो स्थान हासिल गरेको छ। उक्त प्रदर्शनका आधारमा ‘सर्वोत्कृष्ट तेस्रो टोली’ मध्ये एकका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कंगोको बलियो बनेको छ। उज्बेकिस्तान भने तीनै खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा समूह चरणबाटै बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0