
नारायण शर्मा, नवलपरासी/ ३० जेठ । कावासोतीको हेगौली गाउँमा बंगुरको मासु खाएका डेढसय जनामा एकै पटक झाडाबान्ताको प्रकोप फैलिएको छ ।
कावासोती नगरपालिका वडा नम्बर १४ हेगौली गाउमा ६ दिन अघि बंगुर काटेर भोज गरेका थिए । प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याबटेक्निसियन निरिक्षक डिल्लीराम तिवारीका अनुसार गाउँमा कुलो सोहर्ने काम गरेपछि बंगुर काटेर सामुहिक भोज खाएको जानकारी पाइएको छ ।
भोज खाएका ६४ घरपरिवारका डेढसय जना भन्दा धेरैलाई एकै पटक झाडाबान्ता भएको हो । उनिहरुको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्ड र कावासोतीका बिभिन्न अस्पतालमा उपचार गरिएको छ ।
कावासोती नगरपालिकाले अस्पताल आउजाउ गर्ने र उपचार खर्च समेत ब्यहोर्ने जानकारी गराएपछि एकै पटक ३३ जना मध्यबिन्दु अस्पताल डण्डामा उपचारकालागि आएका थिए । निःशुल्क उपचारको जानकारी नगराउदा सम्म झाडाबान्ताका बिरामी घरमै यसो उसो गर्दै थिए । निशुल्क उपचार भनिएपछि सबै उपचारकालागि गएका हुन ।
उनिहरु मध्ये अझै २ जनाको उपचार भैरहेको छ । झाडाबान्ताले ग्रसित भएपनि घरमै बसेका उनिहरु नगरपालिकाले सबै उपचार खर्च ब्यहोर्ने सुचना पठाएपछि सबै एकै पटक उपचारकालागि बिभिन्न अस्पतालमा गएका थिए ।
तिवारीका अनुसार उनिहरुमा बंगुरको मासु खाएपछि फुड प्वाइजनिंग देखिएको अनुमान छ उनिहरुले बंगुर काटदा एक गाउलेले आफनो फ्रिजमा राखेको माशुको टुक्रा परिक्षणकालागि स्वास्थ्य कार्यालय पोखराको ल्याबमा पठाइएको छ । रिपोर्ट आएपछि अझ छर्लंग होला तिवारीले भने । बंगुर काटेर खाएका अधिकांस परिवार थारु समुदायका हुन्।
उपचार गरिएपछि झाडाबान्ताको ६ दिन पछि अधिकासं निको भएको तिवारीले जानकारी दिए ।
























