
पोखरा, ७ साउन । पोखरा महानगरपालिकास्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा नेदरल्याण्ड्सबाट आएका विद्यार्थीहरूको टोलीले अवलोकन भ्रमण गरेको छ। भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयका शैक्षिक गतिविधि, नेपाली संस्कृति तथा पर्यटनका विषयमा विशेष चासो व्यक्त गरेका थिए।
सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले ‘सीआईओएस नेदरल्याण्ड्स’का नृत्य शिक्षक मारियल इगेन, जील भुट्स र कक्षा ११ तथा १२ का ९ जना विद्यार्थीको टोलीलाई कुमुदिनीमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो।
अध्यक्ष पालिखेले नेदरल्याण्ड्सको टोली दोस्रो पटक विद्यालयको अवलोकन भ्रमणमा आएको जानकारी दिँदै नेपालको कला, संस्कृति, पर्यटन र विद्यालयले अवलम्बन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पठन संस्कृतिका बारेमा जानकारी गराउनुभएको थियो।
विद्यालयमा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुनुका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन भइरहेको उहाँले बताउनुभयो। “हामी सधैं उच्च लक्ष्यका साथ अगाडि बढिरहेका छौं। विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि हामी कुनै किसिमको सम्झौता गर्दैनौं,” अध्यक्ष पालिखेले भन्नुभयो।
समुद्र सतहभन्दा मुनि रहेको देश नेदरल्याण्ड्सले गरेको विकासबाट संसार चकित भइरहेको उल्लेख गर्दै उहाँले नेपालसँगको शैक्षिक तथा सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। सो क्रममा उहाँले संसारको सर्वोच्च शिखर सगरमाथा र विद्यालयमा स्थापना गरिएको कला सङ्ग्रहालयको समेत चर्चा गर्नुभयो।
नेदरल्याण्ड्सबाट आउनुभएकी शिक्षिका जीलले नेपाल भ्रमण र कुमुदिनी होम्समा प्राप्त भव्य आतिथ्यता सधैं स्मरणयोग्य रहने बताउनुभयो।
कार्यक्रममा नेदरल्याण्ड्सको टोली र कुमुदिनीका निर्देशक कुशल पालिखेले एकापसमा राष्ट्रिय झण्डा आदानप्रदान गर्नुभएको थियो। सो अवसरमा कुमुदिनीका विद्यार्थीहरूले कौरा तथा लाखे नृत्य र नेदरल्याण्ड्सका विद्यार्थीहरूले आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।



उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सह-प्राचार्य मुकेशकुमार अधिकारीले गर्नुभएको थियो।

























