
काठमाडौं, ११ कात्तिक । साताको शेयर काराेबार हुने तेस्रो दिन कारोबार दिन मंगलबार नेप्से सकारात्मक बनेकाे छ भने उच्च अंककाे बृद्धि भएकाे छ। साेमबार बिदाका कारण बन्द भएकाे शेयर बजार यसदिन बढेर बन्द हुँदा लगानीकर्ताहरु उत्साहि भएका छन् ।
नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ११.९७ अंकले बढेको छ । फ्लोट इण्डेक्स ४.८६ अंकले बढेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंक बढेको छ।
नेप्सेका अनुसार कारोबार रकममा केहि बृद्धि भएकाे छ । अघिल्लाे काराेबार भएकाे दिन आइतबार २ अर्ब ६६ करोड रहेकाेमा मंगलबार ३१४ वटा कम्पनफीहरुकाे ४७ हजार ९४ पटक शेयर काराेबार हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार कित्ता शेयर किनबेच भएको छ।
तीनवटा कम्पनीहरुकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ। न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर काराेबारमा सकारात्मक सर्किट लागेकाे छ । राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ ।लुम्बिनी विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य ६.३६ प्रतिशत घटेको छ।
कारोबार रकमकाे आधारमा हिमालयन पावर पार्टनर सबैभन्दा अगाडी रहेकाे छ । कम्पनीको २४ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ । राधी विद्युत कम्पनीको २२ करोड रुपैयाँ बराबरकाे शेयर काराेबार भएको छ।
यसदिन १३ उपसमूहमध्ये एउटामा राताे लागेकाे छ । बाँकी रहेका १२ उपसमूहहरुमा हरियाे लागेकाे छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढेको छ। वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशत बढी बढेको नेप्सेले जनाएकाे छ।























