
अङ्कारा, ५ कात्तिक । टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त रक्षा सम्झौता अनुमोदन गर्न संसद्मा प्रस्ताव पेस गरेको छ । सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथि भएको आक्रमण मानिनेछ । नेटोको सामूहिक रक्षा अवधारणासँग मिल्दोजुल्दो यो सम्झौताको उद्देश्य क्षेत्रीय सुरक्षा सहयोग र सैन्य क्षमता बढाउनु हो ।
टर्की र पाकिस्तानले सम्झौता इरान वा अन्य कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् । टर्कीले यमनमा लड्न वा हुथी विद्रोहीमाथि आक्रमण गर्न सेना नपठाउने स्पष्ट पारेको छ । गत अगस्टमा इरान युद्धका कारण क्षेत्रीय अस्थिरता बढिरहेका बेला साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
यसले साउदी अरब, आणविक शक्ति पाकिस्तान र नेटोको दोस्रो ठूलो सेना भएको टर्कीलाई साझा सुरक्षा संरचनामा जोडेको छ । तीन देशले यसै महिनाको सुरुमा रियादमा भएको बैठकमा सामूहिक रक्षा प्रतिबद्धता तत्काल कार्यान्वयन गर्ने सहमति गरेका थिए । टर्की र पाकिस्तानले साउदी अरबलाई हवाई रक्षा, विद्युतीय युद्ध प्रणाली र प्राविधिक सहयोग उपलब्ध गराउने सम्भावनाबारे छलफल गरिरहेका छन् ।
यद्यपि, सैन्य परिचालनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । पाकिस्तानले साउदी अरबमा ३० हजारदेखि ४० हजार सैनिक तैनाथ गरिसकेको भन्ने समाचारलाई अनुमानमा आधारित भन्दै अस्वीकार गरेको छ । सन् १९८० को दशकदेखि पाकिस्तानी सैनिकले साउदी सेनालाई तालिम र परामर्श दिँदै आएका छन् । पाकिस्तानका अधिकारीहरूले नयाँ सम्झौताअन्तर्गत पनि सहयोग रक्षात्मक हुने बताएका छन् ।




























