
क्वालालम्पुर, ८ कात्तिक । चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ । अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् ।
यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ । बेइजिङको वाणिज्य मन्त्रालयका अनुसार उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल मलेसियामा सोमबारसम्म रहनेछ ।
एएफपीका संवाददाताहरूले हे लिफेङ र उहाँको टोलीलाई विश्वकै दोस्रो अग्लो भवन ‘मर्डेका ११८’ मा प्रवेश गर्दै देखेका थिए । उहाँहरू पत्रकारहरूसँग कुनै टिप्पणी नगरी भवनको लबी हुँदै माथिल्लो तलातर्फ जानुभएको थियो ।
अमेरिकी प्रतिनिधिमण्डलले भने छुट्टै प्रवेशद्वार प्रयोग गरेको थियो । भवनका कर्मचारीहरूका अनुसार दुई देशका प्रतिनिधिहरू ९२औँ तलामा औपचारिक बैठकमा सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























