
काठमाडौं, ७ असाेज । साताको शेयर काराेबार हुने तेश्राे तथा काराेबार भएकाे दाेस्रो कारोबार दिन मंगलबार आज नेप्सेमा ५८.६३ अंककाे बृद्धि भएकाे ।
नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ९.०८ अंकले बढेको छ । फ्लोट इण्डेक्स ३.९० अंकले बढेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंकले बढेको छ।
यसदिन कारोबार रकम घटेको छ। आइतबार रुपैयाँ ९ अर्ब बढीको काराेबार भएकाेमा आज ३२८ कम्पनीहरुकाे ६७ हजार ३८२ पटक भएकाे काराेबारबाट रुपैयाँ ५ अर्ब २९ करोड २७ लाख ७३ हजार बराबरको काराेबार भएकाे छ । यसबाट १ करोड १३ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको हाे ।
८ कम्पनीहरुकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ । सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडी रहेकाे छ। कम्पनीको रुपैयाँ ३८ करोड ६८ लाख बराबरको काराेबार भएकाे छ। यूनिभर्सल पावर कम्पनीको साढे १८ करोडकाे कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १८ करोड बढीकाे काराेबार भएकाे छ।
१३ वटै उपसमूहहरुमा हरियाे लागेकाे छ। निर्जीवन बीमा उपसमूहको शेयर ३.४८ प्रतिशतले बढेको छ। जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशत बढी बढेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशत बढी बढेको नेप्सेले जनाएकाे छ।























