
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोन कलका क्रममा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गर्नुभएको थियो । तर प्रधानमन्त्री मोदीले उक्त अनुरोध अस्वीकार गर्दै ट्रम्पको दाबीलाई खारेज गर्नुभएको थियो ।
भारतको आधिकारिक अडान अनुसार भारत र पाकिस्तानबीच भएको युद्धविराम अमेरिकाको संलग्नताबिना दुवै देशको प्रत्यक्ष सहमतिमा तय भएको थियो । न्युयोर्क टाइम्सको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ । रिपोर्ट अनुसार ट्रम्पको नोबेल पुरस्कार खोजीमा सहयोग नगर्ने मोदीको निर्णयले भारत–अमेरिका सम्बन्ध बिगार्न महत्त्वपूर्ण भूमिका खेलेको हो ।
फोन कलमा ट्रम्पले सैन्य वृद्धि रोक्न पाउँदा गर्व लागेको बताउनुभएको थियो र पाकिस्तानले आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गर्न लागेको दाबी गर्नुभएको थियो । तर मोदीले हालको युद्धविराममा अमेरिकाको कुनै भूमिका नभएको स्पष्ट पार्नुभएको थियो । फोन कल भएको केही हप्तापछि अमेरिकाले भारतमाथि २५ प्रतिशत पारस्परिक भन्सार शुल्क लगाएको र रूसबाट छुटमा तेल खरिद गरेकोमा थप २५ प्रतिशत जरिवाना घोषणा गरेको थियो ।
यससँगै भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क लागू भएको थियो । न्युयोर्क टाइम्समा मुजीब मशाल, टायलर पेजर र अनुप्रीता दासद्वारा तयार पारिएको यो रिपोर्ट वासिङ्टन र नयाँदिल्लीका एक दर्जनभन्दा बढी व्यक्तिसँगको गोप्य शर्तमा लिइएको अन्तर्वार्तामा आधारित छ । रिपोर्टअनुसार जुन १७ को फोन कलपछि मोदी र ट्रम्पबीच कुनै संवाद भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























