
काठमाडौं, ७ कात्तिक । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।” बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् ।
शमीम यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्ने खेलाडी हुन् । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकपको उपाधि जित्दा उनी बङ्गलादेशको टोलीमा थिए । विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए ।
शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए । शमीमले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरे ।
बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सलगायत टोलीबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए । उनले हालसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपिएलमार्फत त्यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























