
नारायण शर्मा, नवलपरासी
नवलपरासी, ७ कार्तिक । ‘आजैदेखि पोलियो उन्मूलन गरौँ’ भन्ने नाराका साथ सचेतना फैलाउने उद्देश्यले शनिबार बिहान नवलपरासीको कावासोतीमा २९ किलोमिटर लामो साइकल यात्रा आयोजना गरिएको छ।
संसारभर आजैदेखि एकसाथ सुरु भएको साताव्यापी पोलियो उन्मूलन जागरण अभियानका अवसरमा सो कार्यक्रम गरिएको हो।
रोटरी क्लब अफ कावासोतीको आयोजना तथा कावासोती साइक्लिङ ग्रुपको सहकार्यमा सम्पन्न उक्त यात्रामा १०० भन्दा बढी साइकल यात्रीहरूको सहभागिता रहेको थियो।
शनिबार बिहान कावासोतीको फलफूल चोकबाट सुरु भएको साइकल यात्रुहरूको टोलीले कोल्हुवा, गोछडा र मगरकोट हुँदै पुनः कावासोती पुगेर नगर परिक्रमा गरेको थियो। यात्रीहरूले ‘पोलियो उन्मूलनमा हातेमालो गरौँ’ लेखिएका ब्यानरसहित सचेतना फैलाएका थिए।
कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि पूर्वन्यायाधीश ऋषि अधिकारी, कावासोती साइक्लिङ ग्रुपका अध्यक्ष ज्योति श्रेष्ठ तथा रोटरियनहरू भरत पोखरेल, नारायण न्यौपाने र यामप्रसाद न्यौपानेले सम्बोधन गर्दै पोलियो उन्मूलनका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा अपिल गर्नुभयो।


























