
काठमाडौं, २ भदौ। ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका हुन लागेको ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ आजदेखि सुरु भएकाे छ ।
बैठक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा भदौ २ र ३ गते काठमाडौँमा गर्न लागिएकाे समितिले जनाएको छ ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा आयोजना भएकाे बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । अफगानिस्तानको सरकारलाई नेपालले हालसम्म मान्यता नदिएका कारण बैठकमा आमन्त्रणा गरिएको छैन् ।
समारोहमा राष्ट्रपति पौडेल, सभामुख घिमिरे, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो तथा विभिन्न देशबाट आएका विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्दैछन्। उद्घाटन समारोहपछि विभिन्न प्राविधिक सत्र सञ्चालन हुनेछन् ।
बैठकमा हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि गरी करिब ३० जना तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञको सहभागिता रहेकाे छ । साझेदार संस्थाहरू, नेपालको सङ्घीय संसद् र सरकारी अधिकारीहरूका सम्बन्धित विज्ञहरू पनि यस कार्यक्रममा सहभागी भएका छन् । वन तथा वातावरण तथा परराष्ट्र मन्त्रालयसँगको आवश्यक समन्वयमा बैठक आयोजना गरिएकाे हो ।
आयोजक समितिका संयोजक वीरबहादुर बलायरले हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा परेको असर, जोखिम र त्यसक्षेत्रका अवसरबारे विस्तृत र गहन छलफल हुने बताए। उनले भने, “जलवायु परिवर्तनको ठूलो असर हिन्दुकुश क्षेत्रमा परेको छ, जैविक विविधता पनि लोप भएर गइरहेको छ । यसलाई न्यूनीकरण गर्न बेलैमा साझा पाइला चालेर केही गर्न सकिन्छ कि भन्ने उद्देश्य यो कार्यक्रम गर्न लागेका हौँ ।”























