
काठमाडौं, २७ साउन। विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
सरकारले यसरी बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न थाल्यो । तर, सधै एउटै मात्र प्रश्न उठने गरेको छ, युवाको समस्या उद्यमशीलता र रोजगारी । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले अहिले युवाको मुख्य समस्या भनेको उद्यमशीलता र रोजगारी रहेको बताउछन्। “युवामा स्वदेशमा नै केही गर्ने हुटहुटी छ । उनीहरु उद्यमशीलता बन्न खोजिरहेका छन्,” उनले भने, “सरकारले उद्यमशीलता बन्न सहयोग गरोस् भन्ने ती युवाको चाहना रहेको छ ।
त्यस्ता युवालाई सरकारले केही लगानी गरेर उद्यमशीलता बनाउनु पर्दछ ।” उनले युवाले अहिले गफ र भाषण नचाहेको भन्दै काम खोजिरहेको बताए। सरकारले बजेटमा ल्याएका कार्यक्रमलाई कार्यान्वयन गरिदिए मात्र युवाको धेरै समस्या समाधान हुने उनको भनाइ रहेको छ । परिषद्का उपाध्यक्ष बस्नेतले राज्यले युवालाई सके रोजगार नभएर उद्यमशीलता बनाउनुपर्ने बताउछन्। “वर्षमा करिब पाँच लाख युवा श्रम बजार आउने गर्दछन् । तर ती सबै युवालाई रोजगार दिन राज्यले सक्दैन,” उनले भने, “रोजगारी दिन नसकेका युवालाई राज्यले उद्यमशीलता बनाउने हो ।”
करिब पाँच प्रतिशत मात्र स्वदेशमा रोजगारी पाउने अवस्था रहेको छ । उहाँले सरकारले सहुलियपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ लाई सही तरिकाले कार्यान्वयन गर्न सके मात्र धेरै युवा आफैँ उद्यमशील बन्ने बताउछन्। उनले उक्त कार्यविधिअनुसार युवालाई ऋण पाउन पनि प्रक्रिया कठिन रहेको बताए। उनले तीनवटै सरकारले युवा लक्षित सहुलियपूर्ण कर्जा ल्याएर युवालाई स्वदेशमा नै उद्यमशीलता बनाउन सकिने बताए।
युवा दिवस मनाउनुको मूल उद्देश्य संविधानमा उल्लिखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु, युवा केन्द्रित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनका सवालमा बहस पैरवी गर्नु र युवा लक्षित मुद्दाका सवालमा स्थानीय राष्ट्रिय तथा अन्तरराष्ट्रिय सचेतना अभिवृद्धि गर्नु हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवा (राष्ट्रिय नीतिअनुसार १६–४० वर्ष उमेरको जनसङ्ख्या ४२.५६ प्रतिशत अर्थात् एक करोड २४ लाख १२ हजार १७३ रहेको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार स्थानीय तहमा ३९.६५ प्रतिशत, प्रदेश तहमा २३.६३ प्रतिशत र प्रतिनिधिसभामा १३.९ र राष्ट्रियसभामा ६.७७ प्रतिशत युवा सहभागिता रहेको छ । नेपालको वर्तमान जनसाङ्ख्यिक संरचना हेर्दा युवा शक्तिको सङ्ख्या उच्च रहेको छ । यो जनशक्तिलाई उचित वातावरण दिनसके मात्र मान विकास र राष्ट्र निर्माणमा सकारात्मक गति हासिल गर्न सकिन्छ । देशभित्र युवाको क्षमता परिचालन गर्न कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि र सेवा व्यवसायजस्ता क्षेत्रमा युवालाई परिचालन गर्नु आवश्यक छ ।
राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे अहिले युवाको समस्या रोजगारी र उद्यमशीलता रहेको बताउनुहुन्छ । उहाँले युवालाई रोजगारी दिन नसके पनि राज्यले उद्यमशीलता बनाउन सक्ने भन्दै युवामैत्री ल्याएका बजेट कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । “युवालाई अहिले मुख्य रोजगारी चाहिएको छ । त्यसपछि उनीहरुलाई आफैँ केही गर्नसक्ने खालको उद्यमशीलता बन्न खोजिरहेका छन,” उनले भने, “उद्यमशीलता बन्न खोज्ने युवालाई सरकारले सहयोग गर्नु पर्दछ ।”
युवा सङ्घका अध्यक्ष थेवेले आफ्नो सङ्गठनले तीन वर्षमा तीन लाख युवलाई उद्यमशीलता र ३० लाख जनालाई रोजगारी बनाउने अभियान चलाउन थालेको बताउछन्। पछिल्ला वर्षहरुमा खासगरी सूचना तथा सञ्चार प्रविधि, पर्यटन, कृषि र ई–कमर्सजस्ता क्षेत्रमा युवाको उपस्थित बढ्दै गएको छ । कोही उद्यमी नै भएका छन् भने कोही ‘स्टार्ट–अप’का रुपमा प्रवेश गरेका छन् ।
‘डिजिटल’ प्रविधि र नवीनतामा आधारित उद्यम व्यवसायलगायतका विविध क्षेत्रप्रति युवाको चासो र आकर्षण बढिरहेको छ । यसले देशमा केही गर्न सकिन्छ भन्ने सन्देश दिइरहेको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य दिल लामाले युवालाई स्वरोजगारमुखी कार्यक्रम ल्याउनुपर्ने बताउछन्। “राज्यले युवालाई स्वरोजगारमुखी बनाउने नीति ल्याउनु पर्दछ । धेरै युवा मुलुकमा रोजगार नभए विदेसिन बाध्य भएका छन्,” उनले भने, अहिले मुलुकमा भन्दा विदेशमा धेरै युवा देखिन्छन् ।
ती युवालाई स्वदेशमा नै उद्यमशील बनाउने नीति सरकाले ल्याउनु पर्दछ ।” उनले युवालाई नीति निर्माणको तहमा पु¥याउन नसक्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको बताए। उनले आफ्नो सङ्गठन तरुण दलले युवालाई उद्यमशीलतर्फ अग्रसर गराइरहेको बताए।
योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का अध्यक्ष पुष्प ओलीले युवालाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा फरक आउनुपर्ने बताउछन्। उनले नेपाल बस्ने युवा असफल हुन भनेर समाज र राज्यले भाष्य निर्माण गरेको हुनाले बदल्न आवश्यक रहेको बताए। उनले वाइसिएलले युवालाई श्रम र उत्पादनसँग जोड्ने कार्यमा अभियान सञ्चालन गरेको जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















