
पोखरा, ७ साउन । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको स्थापनाको ११ औं वर्ष प्रवेशको अवसरमा आज पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की प्रदेश समन्वय समिति र गण्डकी प्रदेशको संयुक्त आयोजनामा सो रक्तदान आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं ८, न्यूरोडस्थित बराल फर्निचर उद्योगको अगाडी आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष युवराव पौडेलले पहिलो रक्तदाता रामजी प्रसाद तिवारीलाई व्लड व्याग हस्तान्तरण गरेर रक्तदान सुरु गरिएको थियो ।
सो अवसरमा पौडेलले व्यवसायीहरु विविध समस्याकाबीच सामाजिक सेवाका कार्यहरुमा निरन्तर संलग्न भईरहेको बताए । रक्तदान महान कार्य हो । मानवको ज्यान जोगाउन निकै महत्वपूर्ण भएकोले महासंघको ११औं वर्ष प्रवेशको अवसरमा पुनित कार्य गरेकोमा संघ कास्की, प्रदेश समन्वय तथा गण्डकीलाई आभार व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उजराज वास्तोलाले मानिसको ज्यान बचाउन रगतको सट्टामा अर्को कुनै चिज नभएकोले रक्तदान कार्यक्रम गरेर जिवन बचाउने अभियानमा लागेकोमा खुसी व्यक्त गरे । उनले सरकारले व्यवसायीमैत्री नीति ल्याएकाे बताए पनि पीरमर्काहरुलाई मसिनो गरेर नहरेको बताए । उनले सबैलाई एकतावद्ध भएर लाग्न आग्रह गर्दै बैंकको व्याज र घरभाडाका समस्याहरु नसुल्झिएको बताए ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष वलराम आचार्यले व्यवसायीहरुले व्यवसाय गरेर नाफा मात्रै होईन समाजप्रति उनिहरुको उत्तरदायित्व बसिलयो रुपमा बहन भईरहेको बताए । उनले व्यावसायिक क्षेत्रका समस्याहरुको बारेमा हामी सबै जानकार भएकोले संघले आफ्नो तर्फबाट खेल्ने कुनैपनि भूमिकाका लागि तयार रहेको बताए ।
प्राविधिक सहयोग गरेको रक्त संचार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले मानवको जिवन बचाउन रक्तदानको विकल्प अहिलेसम्म तयार नभईसकेकोले रक्तदान गर्न अनुरोध गरे । हामीले योजना पनि ल्याएका छौं । सामुहिक रुपमा गसरने कार्यक्रमहरु तिथि मितमा भईरहन्छन् अब यसको दायरा फराकिलो बनाउनु पर्छ । हरेकले जन्म दिन रक्तदान गरेर मनाउनु पर्छ । यो काम हामी सिर्जनाचोकस्थित कार्यालयमा सुरु गरिसकेका छौं ।
यसअघि कार्यक्रमका संयोजक हिरामणी पण्डितले सहभागिहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचलन महासचिव परमेश्वर दवाडीले गरेका थिए । कार्यक्रम संघका अध्यक्ष थोमनाथ अर्यालको अध्यक्षतामा भएको थियो ।



























