
गण्डकी, ६ साउन। नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका पछि दगुर्ने क्रमले पार्टी सङ्गठन कमजोर बन्ने गरेको बताए।
बिपी कोइलालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा नेता आचार्यले पछिल्लो समयमा विचारका पछि नभई गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको बताउनुभयो । गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको बताउँदै उहाँले त्यसबाट माथि उठ्नु जरुरी रहेको धारणा राख्नुुभयो ।
बिपीका निष्ठा, समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै नेता आचार्यले सत्ताको मात्रै खेल हुँदा त्यसले देशमा दुर्गति निम्त्याउने जिकिर गर्नुभयो । प्रजातन्त्र नभई राष्ट्रियता बलियो नहुने उल्लेख गर्दै उहाँले बिपीले देश र जनताका लागि ठूलो बलिदानी गर्नुभएको बताउनुभयो ।
पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको गतिहीनताले निराशा छाएको र सुशासनसँगै देशभित्र रोजगारीको सिर्जनालगायतका कुरामा ध्यान दिनु जरुरी भएको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपीकै योगदानका कारण वर्तमानमा आफूहरूले अभिव्यक्ति दिनसक्ने स्वतन्त्रता प्राप्त गरेको बताउनुुभयो । बिपीका आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न सकेमा त्यसबाट राष्ट्रका लागि उचित मार्गनिर्देश हुने बताउनुुभयो ।
नेपाली कांग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले बिपी विचार आफैँमा आदर्श भएको बताउँदै त्यो कहिल्यै नमर्ने बताउनुभयो । ‘नागरिक ब्रेडले हैन ब्रेनले सञ्चालन हुन्छ’ भन्ने बिपीको महान् वाणीभित्र ठूलो कुरा लुकेको उहाँले बताउनुुभयो ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा अनुशासन जरुरी रहेको धारणा राख्नुुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका कार्यवाहक सभापति कल्पना तिवारीले बिपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँका विचार सबैका लागि अनुकरणीय भएको बताउनुुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), सहमहामन्त्री कोपिला रानाभाट, प्रशिक्षण विभाग उपप्रमुख प्राडा कुशुमाकर न्यौपाने, नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी, पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छे, क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, नेपाल दलित सङ्घ गण्डकीका अध्यक्ष परशुराम वि पोखरेललगायतले बिपी विचारलाई आत्मसात् नगर्दा कांग्रेस दिनानुदिन कमजोर बन्दै गएको धारणा राख्नुुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























