साउन, १७ सोलुखुम्बु । नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनाउने महाअभियानका साथ देशव्यापी यात्रामा रहनुभएका वरिष्ठ कलाकार तथा प्राज्ञ नगेन सिंह ठकुरीले सोलुखुम्बुको सुन्दर जुम्लिया झरना-पस्धा छाँगालाई त्रिकोण क्यानभासमा उतार्नुभएको छ । “जय कला क्रान्ति, विश्वमा छाओस् शान्ति” अभियानका संयोजक समेत रहनुभएका प्राज्ञ ठकुरीले माप्य दुधकोशी गाउँपालिका–५, धकमलुङस्थित नाग दह मुहान रहेको प्राकृतिक सम्पदाले परिपूर्ण सो झरनाको प्रत्यक्ष -लाइभ चित्रण गर्नुभएको हो । चित्रण कार्यक्रममा स्थानीय जसबहादुर राई, अर्जुन राई, नुरी शेर्पा, पुष्पा राई, सोनि शेर्पा तथा स्थलगत कला भ्रमण संयोजक नकुल सिंह ठकुरी लगायत स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।
सो अवसरमा स्थानीयहरूले १०५ मिटर अग्लो जुम्लिया झरनाको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचनाबारे प्राज्ञ ठकुरीलाई जानकारी गराएका थिए । प्राज्ञ ठकुरीको क्यानभासमा कोरिएको यो चित्रले सोलुखुम्बुको ओझेलमा परेको प्राकृतिक सौन्दर्यलाई विश्वमञ्चमा चिनाउन ठूलो मद्दत पुग्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै स्थानीय जसबहादुर राईले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्राज्ञ सभा सदस्य तथा राष्ट्रिय सम्मान प्रबल जनसेवाश्री-२०८० बाट विभूषित प्राज्ञ नगेन सिंहले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ लगायत राष्ट्रिय निकुञ्जका डेढ सयभन्दा बढी सम्पदाहरू क्यानभासमा उतारिसक्नुभएको छ । उहाँको लक्ष्य देशका ७७ वटै जिल्लाका कम्तीमा ३–३ वटा धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई त्रिकोण क्यानभासमा समेटी “नेपाल कला यात्रा” पुस्तकको दोस्रो संस्करणको तयारीमा रहनुभएको छ । उक्त कृतिलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय तथा पुस्तकालयहरूमा पु¥याउने र वि.सं २०८७ सम्ममा नेपालमा १ करोड पर्यटक भित्राउने लक्ष्य राखिएको छ । करिब ५ लाख नेपालीको सहभागितामा प्रकाशित गरिने यस ऐतिहासिक कृतिका लागि स्वतःस्फूर्त रूपमा रु. १०० योगदानको प्रकाशन अभियान समेत सञ्चालन भइरहेको छ । संयोजक नकुल सिंह ठकुरीका अनुसार सिन्धुली पुग्दासम्म यस अभियानमा २ हजार ३ सय ३३ जना प्रकाशक जोडिइसकेका छन् । साथै, अभियानका क्रममा हालसम्म ७ सयभन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको अभियन्ता नुरी शेर्पाले जानकारी दिनुभयो । कलाका माध्यमबाट देशको पहिचान विश्वभर फैलाउने उद्देश्यले सुरु भएको यो ७७ जिल्ला स्थलगत कला भ्रमणले नेपालको सांस्कृतिक तथा प्राकृतिक पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0