पोखरा, ३ भदाै । अभिनेता दयाहाङ राईले आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा भएकाले यसले दर्शकलाई आफ्नै जीवन र परिवेशसँग जोड्ने विश्वास व्यक्त गरेका छन्।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले ‘पेन्सन पट्टा’ ले प्रेम, भावना, सम्बन्ध र समाजको संरचनालाई सरल ढंगले प्रस्तुत गरेको बताए। तीस–चालीस वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले हराएको पेन्सन पट्टा खोज्नु र त्यससँगै नेपाली समाजको मनोविज्ञानलाई बोल्नु चलचित्रको मुख्य विशेषता रहेको जानकारी दिए।

आफूलाई लेखनमा रुचि भए पनि तत्कालै निर्देशनमा जाने आँट नगरेको बताउँदै उनले अहिले अभिनय क्षेत्रमै निरन्तर काम गर्ने इच्छा रहेको स्पष्ट पारे।

चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले गोर्खालीको निधनपछि आमाको पेन्सन नमिल्दा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्या र उतारचढावलाई इमानदारीपूर्वक प्रस्तुत गरिएको बताए। यस्तै, अभिनेत्रीद्वय सोल गुरुङ र मनिका गुरुङले विषयवस्तु समयसापेक्ष र आकर्षित भएकाले दर्शकले चलचित्रलाई रुचाउनेमा आफूहरू विश्वस्त रहेको धारणा राखे।

पोखराको ताङतिङ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र भदौ २६ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0