काठमाडौं, ९ भदाै । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताउनुभएको छ। मंगलबार काठमाडौँमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालद्वारा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणमा अटो शोले सशक्त मार्गचित्र कोर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले पेट्रोलियम पदार्थको आयात घटाई विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो। “नेपाल जलविद्युत्‌मा धनी देश भएकाले इन्धन आयातमा अर्बौैँ रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प हो,” उहाँले भन्नुभयो।

उपराष्ट्रपति यादवले वातावरणमैत्री र प्रविधिमैत्री नेपाल निर्माणका लागि चार्जिङ स्टेशन जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो। साथै, उहाँले स्वदेशमै अटोमोबाइल उत्पादन, रोजगारी सिर्जना र आन्तरिक बजारलाई चलायमान बनाउन नाडाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रले राज्यलाई गत वर्ष ८१ अर्ब रुपैयाँ (कुल राजस्वको ८ देखि ९ प्रतिशत) योगदान गरेको जानकारी दिँदै यसलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले व्यवसायीको मनोबल बढाउने नीति ल्याउन र स्वदेशमै ‘एसेम्बलिङ’ तथा पार्टपुर्जा उत्पादन सुरु गरी रोजगारी सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो।

त्यसैगरी, नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले ठूला बस, ट्रक र उपकरण प्रदर्शनका लागि भृकुटीमण्डपको वर्तमान स्थल अपर्याप्त रहेको उल्लेख गर्दै काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न माग गर्नुभयो। उहाँले विद्युतीय सवारी पूर्वाधार र स्वदेशी एसेम्बल उद्योगका लागि स्पष्ट नीतिगत सहुलियतको आवश्यकता औँल्याउनुभयो।

नाडा स्थापनाको ५०औँ वर्षको अवसरमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला भदौ २४ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0