
पोखरा, ९ भाद्र। पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई समयसमयमा विभिन्न विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
कहिले वित्तीय लगानीका बारेमा त कहिले विभिन्न सामाजिक विषयमा सम्बन्धित विज्ञहरूबाट नै प्रशिक्षण दिँदै आइरहेको छ। त्यस्तै क्रममा मंगलवार साइबर अपराध र सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सिनियर सब इन्स्पेक्टर होत बहादुर रोकाहाले कक्षा ११ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

पछिल्लो समयमा प्रविधिको प्रयोग बढेसँगै यसले दिनप्रतिदिन चुनौती थपिइरहेकाले यसबाट विद्यार्थीलाई बेलैमा सचेत गराउनका लागि यस्तो कार्यक्रमको आवश्यकता परेको हो। युवा पुस्ताहरू सामाजिक सञ्जालमा जानेर वा नजानेर अभ्यस्त भइरहेका हुन्छन्।
यसबाट उनीहरूलाई सचेतना गराउनका लागि साइबर सुरक्षा कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।
इन्स्पेक्टर रोकाहाले कुनै पनि विद्यार्थी सामाजिक सञ्जालमार्फत् आफू ठगिन पुगेमा तुरुन्तै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरे।























