
पोखरा, २६ असार । उहिले अस्पतालहरु नहुँदा उपचारका लागि हाम्रो भर धामि, झाक्रि, झारफुक, वैदिक तथा तान्त्रिक विधिहरुबाट गरिन्थ्यो । अस्पतालको नाममा जिल्लामा एउटा भएपनि आउन जान समय लाग्थ्यो । कतिका लागि यो संभावना र पहुँचको बाहिर पनि थियो । अहिले बिज्ञानको बिकाससंगै औषधीमूलो सहजै पाईने र अस्पताल क्लीनिकहरु पनि नजिकमा पाईएका छन् ।
तर अझैं पनि मानिसहरुमा पुराना विधि, वैदिक प्रविधि, संस्कार, संस्कृति, उपचार पद्धतिमाथि विश्वास रहिरहेको छ । यो फेरि मनको सन्तोष पनि हो । मानिसको मनोविज्ञानसंग पनि जोडिएको कुरा हो ।
गएको वर्ष चैतमा कानूनी रुपमा वैधताको कागजपत्र पाएपछि बिहिबारबाट पोखरा महानगरपालिका वडा नं ११ काहुँमा स्थापना गरिएको तान्त्रिक संघ कास्कीको बिहिबार उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर के.सी.ले भने, म भाग्यमानि भएँ किनभने यस्तो नौलो कार्यक्रममा सरिक हुन पाएँ ।
उनले आफ्नो बच्चाकालको अनुभव सुनाउँदै भने, मेरो बुबा पनि झारफुक गर्नुहुन्थ्यो । गाउँका मानिसहरु झारफुकका लागि आउँथे र निको भएको कुरा सुनाउने गर्थे । हामी विरामी भयौं भने कास्कीको सल्यान गाउँबाट पोखरा आउन ५, ६ घन्टै लाग्थ्यो । अहिलेको जस्तो गाडी सुविधा थिएन । कति दुःख र कष्ट हुन्थ्यो ।
मलाई खुसी लागेको छ । तान्त्रिक विधिबाट सरकारका नीति नियममा रहेर तपाँईहरु समाज सेवामा लाग्नु भएको थाहा पाउँदा खुसी नहुने को नहोला र ? यो पनि मानव सेवाको कार्य हो । बरु यसलाई पैसाको सट्टा सेवामा जोड दिन उनले आग्रह गरे । उनले भने, मैले र संस्थागत रुपमा गर्न सकिने ठाउँमा सहयोग गर्छु ।
कार्यक्रममा संघका उपाध्यक्ष वालकुमार लुईटेलले सिन्धुपाल्चोकबाट ७ जना गुरु पोखरा आएको र कतिपय अन्य जिल्लाबाट पोखरामा आउन चाहेको कुरा बताए । उनले संस्थालाई विधिवत् दर्ताका लागि निकै कसरत गर्नुपरेकाे र संस्था खोल्नका लागि निर्दिष्ट ऐन कानूनमा टेक्ने ठाउँ नहुँदा सकस परेको अनुभव सुनाए । तान्त्रिक विधिबाट उपचार गरिने भएकोले १५ जनासम्मको लागि आवासीय व्यवस्थापन गर्न सकिने जानकारी दिए ।
घर तथा स्थान उपलव्ध गराएका मूर्तिघरका कलाकार, साहित्यकार भरत आचार्यले मानव सेवाका साथ विधिसंगत तरिकाले आएकोले स्थान उपलव्ध गराएको बताए । उनले भने, नेपाल सरकारको ऐन, कानूनको परिधिमा रहेर पैसाभन्दा मानव सेवालाई प्राथमिकतामा राख्न अनुरोध गरे ।
कार्यक्रममा झाक्रि गुरुहरुले ढ्याङ्ग्रो ठटाउदै तन्त्रमन्त्र उच्चारण गर्दै तान्त्रिक कला प्रस्तुत गरेका थिए । अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा झाक्रि गुरु प्रविन तामाङले सहभागिलाई स्वागत गरेका थिए ।

























