भोजपुर, ८ असार । लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।

बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द–१२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताए। एक गाग्री पानीको जोहो गर्न रात समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमा धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ । “हाम्रो टारीगाउँ क्षेत्रमा पानीको अति नै समस्या थियो”, उनले भने, “एक गाग्री पानी जोहो गर्न राति २ः०० बजेबाट पालो बसेर ल्याउनुपर्ने अवस्था थियो । अहिले लोमाखोलाको पानी आएपछि सहजता छ । हामी एकदम खुसी छौँ ।”

धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताइन्। “म घरमा एक्लै छु”, उनले भनिन्, “दमको रोगी भएका कारण पानी लिन बाहिर जान सक्दिनँ । स्थानीयलाई पैसा दिएर दुई बोतल पानी ल्याउन लगाएर दैनिकी चलाउँदै आएकी थिएँ । मेरा लागि साह्रै पुण्यको काम गरिदिनुभयो । पानी ल्याउनेहरूलाई आशीर्वाद दिन्छु ।”

षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ । दुई स्किममा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भइरहेको छ ।

यस आर्थिक वर्षमा पनि तीव्रगतिमा निर्माणको काम भइरहेकाले यस वर्ष नै एक हजार घरपरिवारमा पानी वितरण गर्ने लक्ष्य छ । लोमाखोला आयोजनाको पानी बस्तीस्तरमा वितरण थालेका छौँ । सबै स्थानीयलाई चाँडो पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यस आवमा एक हजार घरमा पानी वितरण गर्ने हाम्रो योजना छ । आयोजनाको स्किम–१ अन्तर्गत १२ वटा ट्याङ्कीमध्ये नौदेखि ७५ घनमिटरसम्मका नौवटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0